काठमाडौं । सिमेन्ट उद्योगहरूले कारखानाबाट विक्री वितरण गरेको सिमेन्टमा भौगोलिक अवस्था अनुसार अधिकतम ११५ रुपैयाँ भन्दा बढी रकम थप नगर्न आफ्ना डिलरहरूलाई आव्हान गरेको छ । सिमेन्ट उद्योगहरूले २०८१ साउन महिनामा कम्पनी अनुसार सिमेन्टको फ्याक्ट्री मूल्य निर्धारण गरेका थिए ।
शुक्रवार नेपाल सिमेन्ट उत्पादक संघले एक विज्ञप्ति जारी गर्दै फ्याक्ट्री मूल्यमा अधिकतम ११५ रुपैयाँभन्दा बढी रकम थप नगरी विक्री वितरण गर्न आफ्ना डिलरहरूलाई आव्हान गरेको हो ।
यसअघि मङ्सिर महिनादेखि सिमेन्ट उद्योगहरूले विक्री मूल्य बढाएका थिए । पहिले ४ सय रुपैयाँमा पाइने ओपीसी सिमेन्टको मूल्य बढेर ७ सय पुराइएको र पहिले ५ सय रुपैयाँ रहेको पिपिसीको मूल्य बढाएर ८ सय १६ रुपैयाँसम्म पुराएका थिए । त्यसमा निर्माण व्यवसायी र सार्वजनिक लेखा समितिले समेत चासो राखेपछि सिमेन्ट उद्योगीहरूले मूल्य घटाउने प्रतिबद्धता जनाएका थिए ।
सिमेन्ट उद्योगीहरूको प्रतिविद्धतासँगै अब पहिले ४ सय रुपैयाँमा फ्याक्ट्रीबाट विक्री भएको सिमेन्ट अब अधिकतम ५१५ रुपैयाँ पर्नेछ भने पहिले ५ सय वा ६ सय रहेको सिमेन्टको मूल्यमा पनि अधिकतम १ सय १५ रुपैयाँसम्म मात्रै थप गरी लिन पाइने छ ।
यता सिमेन्ट उद्योगीहरूले आफूहरू लामो समयदेखि घाटामा रहेको र घाटा कम गर्न मात्रै मूल्य समायोजन गरिएको बताएका छन् । कुल क्षमताको ३० प्रतिशत क्षमतामा मात्रै उद्योग सञ्चालन भएको, दैनिक लोडसेडिङ भएको र उधारोमा गएको सिमेन्टको रकम समेत प्राप्त नहुँदा ६५ सिमेन्ट उद्योगमध्ये २२ वटा बन्द भइसकेको बताएका छन् ।
लामो समयसम्म घाटा खाएर सिमेन्ट बेच्न नसकिने र यही अवस्था आएमा अन्य उद्योगहरू पनि बिस्तारै कालोसूचीमा पर्ने र बन्द हुने अवस्था आइपुगेको संघको विज्ञप्तिमा उल्लेख छ ।
यहीबिचमा सरकारको आग्रह र लेखा समितिको निर्देशनपछि गत साउन महिनामै तोकिएको फ्याक्ट्री मूल्य कायम गरी भौगोलिक अवस्था अनुसार अधिकतम ११५ रुपैयाँसम्म मात्रै थप गरी रकम लिन पनि उद्योगले आफ्ना डिलरहरूलाई आग्रह गरेको छ ।
सिमेन्टको मूल्य समायोजन पछि निर्माण कार्यले पनि गति लिनेसमेत उद्योगीहरूले अपेक्षा गरेका छन् ।
संघले आफ्नो विज्ञप्तिमा भनेको छ,
‘… तसर्थ यस विषयमा आम उपभोक्ता लगायत सबै सरोकारवालाहरूको हित र विकास निर्माणका कार्यहरू द्रुत गतिमा अगाडी बढाई देशको औद्योगिक उत्पादन र आर्थिक विकासमा टेवा पुगोस् भन्ने असल मनसायका साथ नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्रीज्यू समेतसँग भएको छलफल तथा राय सुझाव तथा आम उपभोक्ताहरूको हितलाई समेत ध्यान दिई हालको सिमेन्टको विक्री मूल्य परिमार्जन गर्न मिति २०८१ श्रावण महिनाको उद्योगहरूको विक्री मूल्यमा भौगोलिक र व्यापारिक अवस्था समेतलाई हेरी विचार गरी हाललाई औसतमा प्रति बोरा (५० केजी) को अधिकतम रु. ११५ (मु. अ. कर बाहेक) भन्दा थप नहुने गरी विक्री मूल्य निर्धारण गर्नु हुन सम्बन्धित सबै सदस्य उद्योगहरूलाई पत्राचार गरी अनुरोध गरिसकिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया