निर्माणाधीन सडकको काम सुस्त

लोकपथ
119
Shares
सांकेतिक तस्बिर

काठमाडौं । व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम सुस्त भएको छ । गत जेठ महिनादेखि सुरु भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । 

विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम भइरहेकामा हालसम्म भौतिक प्रगति ९ दशमलव १३ र वित्तीय प्रगति ७ दशमलव ४६ प्रतिशत रहेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

बुल्दीखोला-बेलटारी-फराकचौर-अधेरीभञ्ज्याङ-कुमालगाउँ-समता स्कुल-कलेस्ती सडक जोडिने उक्त खण्डमा १० दशमलव ५५ किलोमिटर दूरी कालोपत्र हुनेछ । उक्त सडक स्तरोन्नतिका लागि गत वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । 

सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते रू ५२ करोड ७८ लाख ३० हजार चार सय २७ को ठेक्का आह्वान भएको थियो । 

त्यसमध्ये नौ वटा फर्मले बोलपत्र दर्ता गराएकामा २३ दशमलव ४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो । विसं २०८२ असारसम्म यसको म्याद रहेको छ । सडकको काम सुस्त भएपछि निर्माण व्यवसायीलाई कामको गति बढाउन निर्देशन गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए ।

१० दशमलव ५५ किलोमिटर उक्त सडकखण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिने छ । उक्त सडकले व्यास नगरपालिका-११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका-९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कुल, कलेस्ती लगायतका ठाउँ जोड्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?