अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक निकायमा चुस्त, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न प्रदेश सरकार जनशक्ति व्यवस्थापनमा सक्रिय भएर अघि बढेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिले सन्धिखर्क नगरपालिका–६ नरपानीमा सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति पार्कसहित निर्माण गरेको शालिकको आज अनावरण गर्दै उनले परिवर्तन र समानताका लागि सहिदद्वारा गरिएका बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लागेको धारणा राखे । मुलुकको विकास र समृद्धिका लागि सहिदले देखेका सपना पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्रीले भने, ‘सहिद पार्क निर्माण गरेर उनीहरूको योगदानलाई स्मरणीय र पुस्तान्तरण गर्न सहयोग पुगेको छ ।’ मुलुक परिवर्तनमा पुर्याएको योगदानको समाज र राष्ट्रले सधैँ सम्झिरहने भन्दै सहिदहरूप्रति सम्मान र देशभक्तिको भावना जागृत गराउन सरकारले युवावर्ग केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
पार्कसहित शालिक निर्माणले सहिदका योगदानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिने मुख्यमन्त्री आचार्यले विचार राखे । सार्वजनिक निकायलाई नागरिक केन्द्रित बनाउन जनशक्ति आवश्यक पर्ने भन्दै उनले प्रदेश सरकार आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया