हिमालमा हिमपात र तराईमा शितलहर : प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शितलहरबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । 

केही दिन यता तराईका जिल्लाहरुमा भइरहेको शितलहर र हिमाली जिल्लाहरुमा भइरहेको अत्यधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले विगत केही दिनदेखि तराईका जिल्लाहरुमा शितलहर र हिमाली जिल्लाहरुमा हिमपातका कारण जनजीवन प्रभावित भइरहेको बताए । 

उनले हिमपात र शितलहरका कारण चिसोबाट प्रभावित हुने जनसंख्या उल्लेख्य रहेको बताए । उनले चिसोबाट नागरिकहरूलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको बताए । 

शितलहर र हिमपातको लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरू गर्नका लागि परिपत्र जारी गरिसकेको जानकारी दिए । उनले यसअघि नै प्राधिकरणले कार्य योजना बनाएर सबै जिल्लाहरुमा परिपत्र गरिसकेको बताए । महिला, बालबालिका, सीमान्तकृत संकटापन्न समुदायका लागि न्यायो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरू भइरहेको बताए ।  

विगत केही दिनदेखि कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु/कुहिरो लागेको छ । मधेस प्रदेशको पूर्वी भू–भाग (सप्तरी) र कोशी प्रदेशको तराई भू–भाग (मोरङ र सुनसरी) मा मन्द शीतलहरूको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराई भूभागमा केही दिन अझै शीतलहर रहने बताएको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरूको दैनिक जीवनमा असर पर्नसक्ने भन्दै आवश्यक शतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?