जनकपुरधाम । धनुषाको कमला नदीबाट भइरहेको अवैध उत्खननलाई रोक्न जिल्ला प्रहरी कार्यालयले कडाइका साथ प्रहरी परिचालन गरिरहेको छ ।
लामो समयदेखि नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गर्दै आएका वैकल्पिक रूपमा प्रयोग गरिने बाटोलाई खनेर बन्द गर्ने, निगरानी गर्ने, उत्खननको काममा संलग्न ट्र्याक्टर तथा अन्य उपकरण नियन्त्रणमा लिनेलगायत काममा प्रहरीले सक्रियता बढाएको हो ।
पछिल्लो समय प्रहरीको सक्रियता बढेसँगै अवैध गिटी, बालुवाको उत्खनन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध उत्खननमा संलग्न ट्र्याक्टर तथा उपकरण नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए ।
अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन गर्नेलाई पटकपटक समातेर जरिवाना गरे पनि दोहन बन्द नभएपछि वैकल्पिक रूपमा प्रयोगमा आएका बाटोलाई खनेर बन्द गर्न थालेपछि उत्खनन रोकिएको उनले बताए।
मिथिला नगरपालिका र गणेशमान चारनाथ नगरपालिका क्षेत्रभित्र पर्ने कमला नदीको अवैध उत्खनन रोक्न प्रहरी परिचालन गरी निगरानी बढाएपछि उत्खनन नियन्त्रणमा आएको गणेशमानका नगरप्रमुख जितनारायण यादवले बताए । आन्तरिक समस्याले यस वर्ष ठेक्का नलागेकाले कमला नदीमा अवैध उत्खनन अत्यधिक भएकामा हाल नियन्त्रणमा आएको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया