प्रधानमन्त्री कप क्रिकेट : एपिएफ विजयी

लोकपथ
84
Shares

कैलाली । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगीताको उपाधि एपिएफ क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपिएफले उपाधि हात पारेको हो ।

योसँगै एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको हो । उपाधिसँगै एपिएफले  पाँच लाख पुरस्कार पाएको छभने सुदूरपश्चिम उपविजेता हुँदै  तीन लाख हात पार्‍यो । 

जितका लागि पाएको ६८ रनको विजयी लक्ष्य एपिएफले १२ दशमलव पाँच ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । एपिएफका ममता चौधरीले अविजित ४३, कप्तान इन्दु बर्मा नटआउट १८ रन जोडिन् । 

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८ दशमलव एक ओभरमा ६७ रनमा समेटियो । जसमा ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङतर्फ एपिएफका कविता जोशीले तीन, कप्तान इन्दु बर्मा र सवनम राईले दुई/दुई विकेट हात पारे । कविता ‘प्लेयर अफ द म्याच’ चुनिएका छिन् । यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ७२ रन र पाँच विकेट हात पारेकी एपिएफकी कप्तान बर्मा ‘प्लेयर अफ द सिरिज’ भएकी हुन् ।

एपिएफका लागि दुई सय नौ रन बनाएकी ममता चौधरी वेस्ट ब्याटर र बागमतीका लागि १० विकेट हात पारेकी मनिषा उपाध्याय बेस्ट बलर हुन सफल भइन् । प्लेयर अफ द सिरिजले रु ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई  २५र२५ हजार पुरस्कार पाएका छन् । 

यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

फाइनल खेलपछि आयोजित समारोहमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीलगायत खेलाडीहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?