काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा आज पनि बहस चल्ने छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बुधबार आफैँ अदालतमा उपस्थित भएका लामिछानेको तेस्रो दिनको बहस शुक्रबार नसकिएकाले आज पनि चल्ने भएको हो ।
बुधबारबाट जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको मुद्दामा बहस भइरहेको छ । बुधबार लामिछानेले बयान दिएपछि बिहीबारबाट थुनछेक बहस सुरु भएको थियो । पहिलो दिन सरकारी वकिलको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख प्रेमराज पौडेलसहित गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, रवि न्यौपाने र प्रकाश मरासिनीले बहस गरेका थिए ।
त्यस्तै जाहेरकर्ता अर्थात् सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीसहित ४ जनाले बहस गरेका थिए ।
त्यस्तै शुक्रबार रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए । अन्य वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठसहित डा.नारायण कँडेल, राजेन्द्र सेडाईँ, सुरज बस्नेत लगायतले शुक्रबार बहस गर्ने तयारी गरे पनि समय अपुगका कारण आइतबार मात्रै बहस गर्ने भएका थिए ।
प्रतिवादीहरुका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिल र जाहेरकर्ताका अधिवक्ताहरुले जवाफी बहस गर्नेछन् । त्यसपछि मात्रै आदेश आउनेछ ।
लामिछानेलाई सहकारी ठगी प्रकरणमा यसअघि नै दुई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जिल्ला अदालत कास्कीले ६५ लाख र जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । साथै जिल्ला अदालत रुपन्देही बाहेक अन्य दुई अदालतमा समेत लामिछानेको सहकारी ठगी सम्बन्धी मुद्दा विचाराधीन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया