आफ्नै बुवाले नपत्याएका छोरा शिवेन्द्र बहादुर बस्नेत

नेपालको कालोसूचीदेखि अमेरिकी शरणार्थीसम्म

लोकपथ
9.8k
Shares

काठमाडौं । करिब एक वर्ष अगाडि बुद्ध एयरमा आफ्नो ४० प्रतिशत सेयर रहेको तर दाजु वीरेन्द्र बहादुर बस्नेतले हिसाबकिताब समेत नदेखाई एकलौटी गरेको भन्दै एकाएक एक व्यक्तिले पत्रकार सम्मेलन गरे । ती व्यक्ति थिए, बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतका भाइ शिवेन्द्र बहादुर बस्नेत ।

बुद्ध एयरमा लामो समय नाम नै नसुनिएका पात्र एकाएक ४० प्रतिशत सेयर होल्डर भन्दै पत्रकार सम्मेलन गरेपछि यसले चर्चा पायो । दाजु वीरेन्द्र बहादुर बस्नेत अध्यक्ष रहेका कम्पनीमा कुनै कानुनी हैसियत नभएका शिवेन्द्र बहादुर बस्नेतले एकाएक ४० प्रतिशत सेयर रहेको दाबी गरेपछि बुद्ध एयरले पनि पत्रकार सम्मेलन गरेर कम्पनीमा शिवेन्द्र बहादुर बस्नेतको कुनै सेयर नरहेको बतायो ।

पहिले बुद्ध एयरमा शिवेन्द्रको सेयर दाबी वा विवादको विषय बुझौँ

नेपालको आन्तरिक यातायातको अवस्था कमजोर रहेको र पूर्वाधारको विकास नभएको कारण यातायातलाई सहजीकरण र सरलीकरण गर्न भन्दै मध्यम स्तरका विमानबाट उडान गर्ने भन्दै सन् १९९६ मा बुद्ध एयरको स्थापना गरियो ।

बुद्ध एयरको पहिलो १९००डी बिचक्राफ्ट विमान

सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा तत्कालीन सरकारका मन्त्रीसमेत भइसकेका सुरेन्द्र बहादुर बस्नेतले देश दौडाहाका क्रममा यातायातको दुरावस्था देखेपछि सहज हवाई यातायातको सपना देखे । साथै पर्यटकलाई नेपालका हिमालहरू देखाउन हिमालमाथिबाट उडान भर्ने गरी माउन्टेन फ्लाइटको योजनासमेत बनाएर बुद्ध एयरको स्थापना गरेका थिए । स्थापना गरेको एक वर्षमै अर्थात् सन् १९९७ को अक्टोबर ११ बाट बुद्ध एयरले दुई वटा बिचक्राफ्ट विमानबाट उडान सुरु गर्‍यो । पहिलो उडान माउन्टेन फ्लाइटबाटै गरिएको थियो ।

बुद्ध एयर स्थापना हुँदा त्यसको कुल सेयरमध्ये ७२ प्रतिशत सेयर संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको नाममा थियो भने बाँकी २८ प्रतिशत सेयर दुई छोराहरू वीरेन्द्र बहादुर बस्नेत र शिवेन्द्र बहादुर बस्नेतको नाममा कायम गरियो ।

बुद्ध एयरका संस्थापक अध्यक्ष स्व. सुरेन्द्र बहादुर बस्नेत

बुद्ध एयरले उडान सुरु गरेको केही समयमै शिवेन्द्रले मनोमानी गर्न नपाएको तथा विवाहेत्तर सम्बन्धका कारण आफ्ना सबै सेयर बिक्री गरी बुद्ध एयरबाट निस्किए । आफ्नो १४ प्रतिशत सेयर सन् १९९८ मा बुद्ध एयरलाई नै बेचेर शिवेन्द्र बुद्ध एयरबाट बिदा भए । त्यसपछि बुद्ध एयरको सेयर स्वामित्व ८० प्रतिशत सुरेन्द्र बहादुर बस्नेतको नाममा र बाँकी जेठा छोरा वीरेन्द्रको नाममा रहन गएको थियो ।

बुद्धको सेयर बेचेर माउन्टेन एयर खोलेका शिवेन्द्रले त्यो पनि डुबाए

बुद्ध एयरमा रहेको आफ्नो सबै सेयर बेचेर सन् १९९८ मा निस्किएका शिवेन्द्रले सन् २००० मा माउन्टेन एयर नामक कम्पनी स्थापना गरे । कम्पनी स्थापना गर्दा बुद्ध एयरमा रहेका फ्लाइट एटेन्डेन्सदेखि प्राविधिक जनशक्तिसमेत शिवेन्द्रले लैजाँदा बुद्ध एयर आफैँ तत्कालीन समयमा समस्यामा परेको थियो । कम्पनी स्थापना गरेको केही समयमै शिवेन्द्रले दुई वटा बिचक्राफ्ट विमान भाडामा ल्याएर सञ्चालन पनि गरेका थिए । तर अनियमित खर्च, सौख र शिवेन्द्रको मोज मस्तीका कारण कम्पनीले खर्च धान्न सकेन । भाडामा लिइएका विमानको किस्तासमेत समयमै बुझाउन नसकेपछि विमान फिर्ता जाने भएपछि भाडामा लिइएका दुई वटै विमान पछि बुद्ध एयरले खरिद गरेको थियो ।

विमान नभए पनि केही समय भने कम्पनी अस्तित्वमै रह्यो । तर नेपाल सरकार तथा बैंकलाई बुझाउनुपर्ने ऋण तथा कर लगायतका दायित्व बाँकी नै थियो । नेपाल सरकारले पटक पटक कर चुक्ता गर्न पत्राचार गरी सूचना प्रकाशन गरे पनि माउन्टेन एयर र त्यसका सञ्चालक शिवेन्द्र बहादुर बस्नेतले नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्व र बक्यौता भने बुझाएनन् । त्यसपछि उनको कम्पनी कालोसूचीमा पर्‍यो ।

एयर होस्टेसलाई नै कान्छी श्रीमती बनाए, मोज मस्तीमा होमिए

बुद्ध एयरको स्थापना हुनुभन्दा पहिले नै शिवेन्द्र बहादुर बस्नेतको विवाह अर्चना बस्नेतसँग भई तीन छोराछोरीको जायजन्म भइसकेको थियो । तर अहमता र मोज मस्तीमा रमाउने शिवेन्द्रले यहीबिचमा बुद्ध एयरमै काम गरेकी रायमाझी थरकी एयर होस्टेसलाई गर्भवती बनाए । ती श्रीमतीबाट जायजन्म भएकी छोरीको उमेर अहिले करिब २० वर्ष पुगिसकेको छ । तर शिवेन्द्रले नाता प्रमाणित पनि नगरिदिएको र सम्पत्तिबाट पनि बेदखल गरेपछि रायमाझी थरकी ती कान्छी श्रीमती र उनकी छोरीले शिवेन्द्रविरुद्ध ललितपुर जिल्ला अदालतमा नाता कायम र अंशको मुद्दा दायर गरेकी छिन् । शिवेन्द्रको स्वामित्व लाग्ने जावालाखेलको जग्गा तथा डाँगीहाटका ६० बिगाहा समेत उनीहरूले रोक्का गराएका छन् ।

शिवेन्द्रले रायमाझी थरकी एयर होस्टेसलाई कान्छी श्रीमती मात्रै बनाएनन्, एयरलाइन्स कम्पनीका मालिकको नाम र आडमा आफ्नो अधिकांश समय र सम्पत्ति मोज मस्तीमा खर्च गरे । तर अहिले आफ्नो सम्पत्तिमाथि रायमाझी र उनीबाट जायजन्म भएकी छोरीको अंश मुद्दा वा दाबी नपुगोस् भनेर शिवेन्द्रले अहिले जेठी श्रीमती अर्चनासँग कागजी सम्बन्ध विच्छेद गरेका छन् । यद्यपि शिवेन्द्र अहिले पनि जेठी श्रीमती अर्चना बस्नेतसँगै एउटै भान्सामा खाएर सँगै बस्ने गरेका छन् ।

अनि खोले शिवानी एयर

बुद्ध एयरबाट निस्कँदा राम्रो रकम लिएर गएका शिवेन्द्रले माउन्टेन एयरमा पैसा डुबाएपछि उनले फेरि शिवानी एयरका नाममा फ्लाइङ स्कुल स्थापना गरे । चितवनको भरतपुरमा कार्यालय स्थापना गरी उनले सिङ्गल इन्जिन विमानसमेत ल्याएर सन् २००७ बाट ट्रेनिङ सुरु पनि गरे ।

भरतपुरस्थित ह्याङ्गरमा रहेको शिवानी एयरको सिङ्गल इञ्जिन विमान (तस्वीर : रुपचन्द्र केसी)

तर उक्त कम्पनी पनि राम्रोसँग चल्न नसकी घाटामा गई नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने रकमसमेत तिर्न नसकी बन्द भयो । यही बिचमा बुवा सुरेन्द्र बहादुर बस्नेतसँग रकम माग गरे पनि सुरेन्द्रले छोरा शिवेन्द्रलाई पत्याएनन् । शिवेन्द्रले पैसा माग्दा सुरेन्द्रले ‘विश्वासयोग्य छैन’ भन्दै एक रुपैयाँ पनि नदिने बताएपछि शिवेन्द्र बुवा र दाजुबाट टाढिए ।

भरतपुरस्थित शिवानी एयरको ह्याङ्गर

अनि शरणार्थीका रूपमा अमेरिका भासिए
माउन्टेन एयर र शिवानी एयर डुबेपछि र आफ्नै बुवाले समेत नपत्याएपछि शिवेन्द्र बहादुर बस्नेत नेपाल छाडेर अमेरिका पुगे । उनी अमेरिकामा शरणार्थी नागरिकका रूपमा बसी पासपोर्टसमेत बनाएका छन् । उनी के कसरी शरणार्थीका रूपमा अमेरिका प्रवेश गरे र के कसरी त्यस्तो भिसा प्राप्त गरे भन्ने खुलेको छैन । यद्यपि उनी माओवादी द्वन्द्वकालको उत्तरार्धतिर माओवादीबाट खतरा छ भन्दै नक्कली कागजात तयार पारी अमेरिकामा शरणार्थीका रूपमा प्रवेश गरेको श्रोतको दाबी छ ।

शिवेन्द्र बहादुर बस्नेतको अमेरिकी पासपोर्ट

शरणार्थीका रूपमा अमेरिका पुगेका शिवेन्द्रले त्यहाँ एभरेस्ट मोमो र यतिज मोमो नामको कम्पनी स्थापना गरे । मोमो तथा फास्ट फुडको विक्री वितरण गर्न भन्दै कम्पनी स्थापना गरेर व्यापार सुरु गरेका शिवेन्द्रको सुरुवाती व्यापार राम्रै थियो । व्यापार राम्रो भएपछि बिस्तार गर्न भन्दै शिवेन्द्रले विभिन्न कम्पनी तथा बैंकसँग ऋणसमेत लिएका थिए ।

सुरेन्द्रले शिवेन्द्रलाई हटाएर बुहारी र नातिनातिनालाई दिए सेयर
आफ्नो उमेर बढ्दै गएको र काम गर्नसमेत नसक्ने अवस्थामा पुगेपछि २०७५ सालमा बुद्ध एयरका संस्थापक सुरेन्द्र बहादुर बस्नेतले आफ्नो नाममा कायम रहेको ८० प्रतिशत सेयर दुई छोराहरू वीरेन्द्र बहादुर बस्नेत र शिवेन्द्र बहादुर बस्नेतको परिवारलाई दिने घोषणा गरे । शिवेन्द्र अमेरिकामा रहेको र व्यवहार राम्रो नभएको भन्दै सुरेन्द्रले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयरमध्ये ४० प्रतिशत सेयर वीरेन्द्र बहादुर बस्नेतलाई दिए भने बाँकी ४० प्रतिशत सेयर शिवेन्द्रकी प्रथम पत्नी अर्चना बस्नेत तथा तीन नाति–नातिनाका नाममा दिए ।

सुरेन्द्र बहादुर बस्नेतको नाममा रहेको ८० प्रतिशत सेयर दुई छोराहरूको हक अधिकार रहने तर शिवेन्द्रले पाउने हक शिवेन्द्रलाई नदिई बुहारी र नाति नातिनाको नाममा ४०-४० प्रतिशत बाँडफाँड हुँदा पहिले नै २० प्रतिशत सेयर रहेका वीरेन्द्र बहादुर बस्नेतको नाममा ६० प्रतिशत सेयर पुग्यो ।

२०७५ सालमा सर्वसम्मत सम्झौताका आधारमा सेयर बाँडफाँड हुँदा अब समूह क र समूह ख भनी वर्गीकरण गरियो भने समूह क मा रहेका वीरेन्द्र बहादुर बस्नेतका नाममा ६० प्रतिशत र समूह ख मा रहेका अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेत र आदर्श बहादुर बस्नेतको नाममा राखियो । अनि सञ्चालक समितिमा समूह क बाट दुई जना सेयर सदस्य र समूह ख बाट एक जना सेयर सदस्य रहने गरी सञ्चालक समिति रहने सर्वसम्मत सम्झौता भयो ।

शिवेन्द्र अमेरिकामा पनि कालोसूचीमा

शरणार्थीका रूपमा नेपाल छाडेर अमेरिका पुगेका शिवेन्द्रले अमेरिका पुगेपछि पनि आफ्नो बानी व्यवहारमा परिवर्तन गर्न सकेनन् । ‘आदत से मजबुर’ शिवेन्द्र त्यहाँ पनि मोज मस्तीमै रमाउन थाले । व्यापारबाट भएको आम्दानी व्यक्तिगत काम र मोज मस्तीमा खर्च गर्न थाले र फास्टफुडको व्यापार चलाउन लिएको ऋणसमेत तिर्न छाडे । त्यसपछि शिवेन्द्र अमेरिकामा पनि कालोसूचीमा परे । अमेरिकामा दर्ता भएको एभरेस्ट मोमो र यतिज मोमोले अमेरिकामा एक करोड ४० लाख नेपाली रुपैयाँ तिर्न बाँकी छ । अमेरिकाको उपल्लो अदालतले समेत शिवेन्द्रलाई दोषी ठहर गरिसकेको छ भने १ लाख १ हजार १९३ दशमलव ४४ अमेरिकी डलर रकम तिर्नुपर्ने फैसला सुनाएको छ ।

शिवेन्द्र बहादुर बस्नेतविरुद्ध अमेरिकामा चलेको मुद्दा र भएको फैसला

बुवा सुरेन्द्रको मृत्युपछि नेपाल फिर्ता, सेयरमा दाबी

अमेरिकामा कालोसूचीमा परि मुद्दा चल्दै गर्दा शिवेन्द्रको बुवा अर्थात् बुद्ध एयरका संस्थापक सुरेन्द्र बहादुर बस्नेतको निधन भएकाले शिवेन्द्र २०७९ पुसमा नेपाल आए । बुवाको काज किरिया सकिएसँगै जेठी पत्नी अर्चना लगायतको सेयरलाई आफ्नो सेयर भन्दै ४० प्रतिशत सेयर होल्डरका रूपमा आफू बुद्ध एयरको व्यवस्थापनमा आउन पाउनुपर्ने नत्र कम्पनी लिक्वीडेसनमा लगी ४० प्रतिशत बराबर बुद्ध एयरको स्वामित्वमा रहेको ८ वटा जहाज पाउनुपर्ने माग गरिरहेका छन् । यद्यपि शिवेन्द्र बहादुर बस्नेतको परिवारको नाममा रहेको ४० प्रतिशत सेयरमध्ये ५ प्रतिशत सेयर रहेकी एक छोरीले ठुलो बुवा अर्थात् वीरेन्द्र बहादुर बस्नेतको पक्षमा वकालत गरेकी छिन् । त्यसपछि ३५ प्रतिशत सेयर हिस्सा रहेका अन्य सदस्यले भने शिवेन्द्र बहादुर बस्नेतलाई बोर्ड डाइरेक्टरमा ल्याउनुपर्ने र बुद्ध एयरमा प्रवेश दिनुपर्ने माग गरिरहेका छन् ।

तर बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भने सेयर सदस्यको अधिकार यथावत् रहने तर व्यवहार राम्रो नभएको र जुन कम्पनी सम्हाल्यो, त्यो कम्पनी डुबाउने गरेका शिवेन्द्रलाई कम्पनीमा भित्राउन नसक्ने अडान लिएपछि अहिले यी दाजुभाइको विवाद उत्कर्षमा छ ।

दाइ वीरेन्द्रलाई सिद्ध्याउन लागिपरेका शिवेन्द्रले विभिन्न अदालत तथा अर्धन्यायिक निकायमा समेत बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतविरुद्ध मुद्दा दर्ता गराएका छन् । कानुनी उपचारमा कमजोर बनेका शिवेन्द्र अहिले राजनीतिक ढोका चहारिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?