काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् ।
आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकार सरकारहरुको सूचिमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताए । उनले सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने बताए ।
उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरुलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए ।
उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताए । निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताए ।
उपप्रधानमन्त्री पौडेलले राजश्व संकलनमा सहयोगी भूमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे । राजश्व चुहावट, अनियमितताका प्रवृत्तिहरूलाई निरुत्साहित गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरूलाई निर्देशित गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया