हुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाइने

लोकपथ
35
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाइने बताएका छन् ।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक सेवा विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उनले हुलाकको नीति परिवर्तन आवश्यक रहेको बताए । 

मुलुक रुपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा उनले राखे । उनले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समयानुकूल बनाउनमा  गम्भीरताका साथ लागेको जानकारी दिए।

हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण भएकाले यसलाई आधुनिकीकरण गरी प्रविधि मैत्री बनाउन जरुरी रहेको उनको भनाइ छ । ‘अब हुलाकको नीति परिवर्तन हुन्छ, ‘मन्त्री गुरुङले भने, ‘हुलाकलाई प्रविधिमैत्री बनाउने विषयमा मन्त्रालय सधैँ संवेदनशील छ ।’

सो कार्यक्रममा स्थानीय तहका हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरूलाई आग्रहसमेत गरे । ‘हुलाक सेवाको प्रभावकारिता केन्द्रमा रहेको गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरू स्थानीय तहका हुलाक कर्मचारीले आआफ्नो क्षेत्रमा सेवा प्रभावकारी बनाउनुहोस्, ‘उनले भने । 

सो कार्यक्रममा हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था र स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती तथा कार्य योजनामन्त्रीसमक्ष जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?