काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले संसद्को कृषि समितिका सभापतिसहित सदस्यहरुको अनुगमनका क्रममा पोखरामा एक रात भएको घटनाको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छन् ।
गत पुस २४ गतेदेखि २९ गतेसम्म प्रतिनिधि सभाको कृषि समितिले नेपालगञ्जदेखि पोखरासम्मका विभिन्न कार्यालयको अनुगमन गरेको थियो । सो क्रममा पुस २९ गते रातिको समयमा अनुगमन समापनका दिन पोखराको एक होटलमा सभापति कुसुमदेवी थापासहित सबै सदस्यहरु उपस्थित थिए । पोखराको ओपनहाउस पोखरा होटलमा खानपिनका क्रममा सभापति थापासहित सदस्यहरुले रक्सी खाएर आफूसहित रास्वपाका नेताहरुको व्यक्तिगत चरित्र हत्या गरेको भन्दै आलोचना गरिरहेकी छिन् ।
उनले गत बिहीबार बसेको समितिको बैठकमा नै सो विषयमा आवाज उठाएकी छन् ।
त्यहाँ उनले रास्वपा सांसद सुमना श्रेष्ठ लगायतको विवाहको कुरा लिएर र सभापति रवि लामिछानेको विषयलाई लिएर समिति सदस्य एवं सांसदहरुले गम्भीर आरोपहरु लगाएको बताएका थिइन् ।
उनले आज समितिमा निवेदन दिँदै पुस २९ गते राति ८ बजेदेखि १० बजेसम्मको सिसिटिभी फुटेज झिकाउन माग गरेकी हुन् ।
‘उपरोक्त सम्बन्धमा कृषि समितिले मिति २०८१–०९–२४ देखि २०८१–०९–२९ सम्म नेपालगञ्ज देखि पोखरा सम्मको ६ दिने अनुगमन कार्यक्रम अन्तर्गतको भ्रमणको सन्दर्भमा मिति २०८१–०९–२९ मा समिति सदस्य बसेको होटल ओपन हाउस पोखराको राति ८ बजे देखि १० बजे सम्मको सीसीटीभी फुटेज झिकाई उपलब्ध गराउन, साथै उक्त दिनमा भएको खर्च विवरणको बिल भरपाई पनि उपलब्ध गराउन अनुरोध गर्दछु।’, सांसद कठायतले दिएको निवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया