काठमाडौं । संयुक्त राज्य अमेरिकाको बाह्य गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले कोरोना भाइरस (कोभिड–१९) चिनियाँ प्रयोगशालाबाट बाहिरिएको दाबी गरेको छ ।
सीआईएले आफ्नो पूर्व मूल्यांकनलाई परिवर्तन गर्दै कोभिड–१९ चिनियाँ प्रयोगशालाबाट उत्पन्न भएको दाबी गरेको हो ।
अमेरिकाको दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले नियुक्त गरेका सीआईएका नयाँ निर्देशक जन र्याटक्लिफले त्यस्तो दाबी गरेका हुन् । तर उनले आफू सीआईएको नयाँ निर्देशक बनेसँगै गरेको पहिलो निर्णय एवं मूल्यांकनका आधारमा सो कुरा बताएका हुन् ।
उनले गत बिहीबारबाट मात्रै पद सम्हालेका थिए । ट्रम्पको पहिलो कार्यकालमा गुप्तचर निकायको निर्देशकका पमा काम गरेका उनले पुनः नियुक्ती पाएसँगै नयाँ दाबी गरेका हुन् ।
उनले त्यसबेला पनि चीनको वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीको प्रयोगशालाबाट चुहावट भएको भाइरसका कारण कोभिड सुरु भएको हुन सक्ने दाबी गर्दै आएका छन् ।
कोभिड–१९ पहिलोपटक वुहानमा फेला परेको थियो । ब्रेइटबार्ट न्यूजमा शुक्रबार प्रकाशित अन्तर्वार्ताकमा क्रममा र्याटक्लिफले आफू भाइरसको उपत्पिबारे सीआईएको तटस्थ अडान त्याग्नुपर्ने पक्षमा रहेको बताएका थिए ।
‘मैले भन्ने गरेको एउटा कुरा के हो भने धेरै मोर्चाहरुमा चीनबाट आउने खतरालाई सम्बोधन गर्नुपर्छ । त्यो किन लाखौँ अमेरिकीहरु मरे र केन्द्रीय गुप्तचर निकाय पाँच वर्षदेखि कोभिडको उत्पतिबारे कुनै विश्लेषण नगरी किन छेउमा बसिरहेको छ भन्नेतर्फ पनि सोझिन्छ,’ उनले भनेका छन्,‘त्यसैले त्यो मैले त्यो दिन नै गर्नुपर्ने काम थियो भन्ने लाग्छ ।’
यता धेरै अमेरिकी अधिकारीहरुले सीआईए प्रमुखले गरेको दाबी गोप्य सूचनाहरुको आधारमा नगरिएको दाबी गरेका छन् ।
शनिबार सीआईएले प्रस्तुत गरेको तथ्यांकमा ‘न्यून आत्मविश्वास’ भनिएको छ । यसको मतलब त्यो भनेको त्यसबारे गुप्त सूचनाहरु एकदम कमजोर छन् वा कुनै निष्कर्ष दिने खालका छैनन् वा विरोधाभाषपूर्ण रहेका छन् भन्ने अर्थ लाग्ने बताइएको छ ।
यता कोभिड महामारी कहाँबाट फैलियो भन्नेबारे भने सबै एकमत भने छैनन् । जसलाई कतिपय विज्ञले प्राकृतिक उत्पति मानेका छन् भने कतिपयले जनावरहरुबाट प्राकृतिक रुपमा नै कोरोना भाइरस मानिसहरुमा सरेको र त्यसमा कुनै वैज्ञानिक वा प्रयोगशालामा संलग्नता नरहेको तर्क गरिएका छन् ।
यता चीनले भने विगतमा प्रयोगशालाबाट चुहावट भएको भन्ने अमेरिकाको दाबीलाई वासिङटनले गरेको ‘राजनीतिक उदेश्यप्रेरित अफवाह’ रहेको भन्दै खण्डन गर्दै आइरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया