विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित

लोकपथ
35
Shares

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई सर्वसहमतिले पारित गरेको छ । 

आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले उक्त विधेयकलाई सर्वसहमतिले पारित गरेको हो । 

समितिले लामो समय विधेयकका विषयमा छलफल गरी समितिले बनाएको अन्तिम ड्राफ्टको विषयमा उद्योग,कानुन र सञ्चार मन्त्रालयसँगको छलफलपछि विधेयक समितिबाट पारित भएको हो । विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभा हुँदै छलफलका लागि समितिमा आएको थियो ।

समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सबैको सर्वसहमतिले विधेयक पास भएको घोषणा गरे । उनले समितिबाट पारित भएको विधेयक संसदमा पेस गरिने बताए । उनले समितिबाट विधेयक पास भए पनि संसदमा पेस गर्ने जिम्मेवारी बाँकी रहेको बताए । 

समिति बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० महत्वपूर्ण रहेको भन्दै नयाँ विधेयक बन्नु खुसीको विषय भएको बताए । 

उनले नयाँ ऐन समिति र संसदबाट पारित गराउनु भनेको समिति र सरकारको पुँजी भएको बताए । उनले विगतमा धेरै ऐनहरू बनाउँदा समय सापेक्ष भए/नभएको समीक्षाका आधारमा नयाँ कानुन बनाउन आवश्यक रहेको बताए । उनले सरकारले ऐन कानुनहरू बनाउँदा सरलीकृत बनाउने प्रयास स्वरूप धेरै ऐनहरू संशोधन गरिरहेको उल्लेख गरे । उनले ऐन कानुनहरू सरलीकृत हुँदा कार्यान्वयनमा सहजता हुने बताए । उनले ऐनलाई कार्यान्वयन गर्ने विधि र कार्यविधि बनाउन जरुरी रहेको बताए । 

विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० विधेयकले मध्यस्थकर्ता,उत्पादक र विक्रेतालाई व्यवसायीको रूपमा लिएको छ । विधेयकले अरूको उत्पादनलाई अनलाइन माध्यमबाट व्यापार गर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?