काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबारसम्म चल्ने भएको छ । आइतबार संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को हिउँदे अधिवेशन, सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेश,उच्च स्तरीय संयन्त्रको आवश्यकताका विषयमा सांसदहरुलाई जानकारी दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
उनले बैठकमा सदनमा दरिलो उपस्थितिको रणनीतिका विषयमा पनि छलफल भएको उल्लेख गरे । आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि सांसदहरूको समेत धारणा सुन्दै मन्त्री र पार्टीका नेताहरूको जवाफ दिएर टुंगोमा पुगिने बताए ।
उनले बैठकमा गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेशका विषयमा सांसदहरुलाई प्रष्ट पारेको जानकारी दिए । उनले उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको उल्लेख गरे। उनले बैठकमा तीन जना विज्ञहरूले सांसदहरुलाई सरकारले ल्याएको अध्यादेश र अध्यादेशमा आएका ऐनहरूको अन्तर बस्तुको विषयमा प्रकाश पार्ने काम समेत भएको बताए । पार्टीभित्र धेरै विषयका वादविवाद भए पनि पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्न कांग्रेसका नेताहरूले बोकेर हिँड्नुपर्ने कर्तव्य भएको बताए ।
उनले आन्तरिक रूपमा व्यापक छलफल गरौँ तर बाहिर गएपछि पार्टीको निर्णयलाई बोकेर हिँड्नु पार्टी कार्यकर्ताको धर्म भएको पनि बताए । उनले आगामी संसदमा सत्ता पक्ष र प्रतिपक्षको सहमतिकै आधार विधेयकहरू बनाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया