काठमाडौं । अछामको ढकारी गाउँपालिका–८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्काको मृत्युलाई लिएर प्रहरीले शंकास्पद दुई किशोरलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार, अनुसन्धानका क्रममा शंकास्पद दुई किशोरलाई नियन्त्रणमा लिइएको हो । उनीहरू पनि ढकारी गाउँपालिकाकाकै भएको प्रहरीले जनाएको छ । यद्यपि, प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन ।
स्रोतका अनुसार पक्राउ परेका दुई किशोर मृतक किशोरीहरूसँग निरन्तर सम्पर्कमा रहने गरेको भेटिएको छ । साथै घटनाका बेला पनि उनीहरू जंगलमै देखिएको पाइएको छ । प्रहरीका अनुसार उनीहरूमाथि सोधपुछ जारी छ ।
ती दुई किशोरी शनिवार बेलुकी ढकारी गाउँपालिका–१ को जंगलमा मृत फेला परेका थिए । बाख्रा चराउन गएका उनीहरूको ढकारी गाउँपालिका–१ स्थित सिस्ने ओढारमा शव भेटिएको थियो । प्रहरीले शव पोस्टमार्टमका लागि भेरी प्रादेशिक अस्पताल नेपालगन्ज लगेको छ ।
भीरमुनि मृत भेटिएका दुवै किशोरीको अनुहार क्षतविक्षत अवस्थामा छ । दुवै किशोरीको शव २० मिटरको दूरीमा भेटिएको थियो ।
पीडित परिवारले घटना शंकास्पद रहेको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया