भोजपुर । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वडाका ७५ किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।
यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उनको भनाइ छ । किसानलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने उहाँले बताए ।
‘यहाँका किसानलाई उन्नत जातका गाई वितरण गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘पहिलो चरणमा तीन वटा वडामा ७५ वटा गाई वितरण गर्ने लक्ष्य छ । महिला उद्यमीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’ मुख्यरुपमा पशुपालनको लागि उपयुक्त रहेको वडा नं १ श्यामशिला, वडा नं २ तिवारीभज्ञ्याङ र वडा नं ३ च्याङ्गेका किसानलाई गाई वितरण गरिएको हो ।
गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्षल किरण राईले बताए । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाएर किसानलाई आयआर्जनमा जोड्न उन्नत जातका गाई वितरण गरिएको उनको भनाइ छ । विगतका वर्षहरुमा किसानलाई उन्नत जातको भैँसी वितरण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिए ।
‘किसानलाई आर्थिकरुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले उन्नत जातका गाई वितरण गरेका छौँ,’ अध्यक्ष राईले भने, ‘यसअघि हामीले किसानलाई उन्नत जातको भैँसी दिएका थियौँ । त्यो कार्यक्रम सफल भएको छ । यस पटक हामीले उन्नत जातका गाई वितरण गरेका छौँ । अहिले किसानले उत्पादन गरेको दूध सदरमुकामसम्म पुग्न थालेको अवस्था छ ।’
गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष राईको भनाइ छ । ‘हामीले किसानलाई आयआर्जनसँग जोड्ने कार्यक्रममा ध्यान दिएका छौँ,’ अध्यक्ष राईले भने, ‘पोषनसँगै किसानलाई रोजगारमुखी बनाउने लक्ष्यका साथ अघि बढेका छौँ । बाँझोको जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्ने किसानलाई प्रोत्साहनको नीति लिएका छौँ ।’
गाउँपालिका ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत महिला उद्यमीलाई आर्थिकरुपमा सक्षम बनाउने लक्ष्यका साथ गाई वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । ‘मुख्यरुपमा महिला उद्यमीलाई लक्षित गरेर गाई वितरण कार्यक्रमको अघि सारेका हौँ,’ उपाध्यक्ष राईले भने, ‘घरको आर्थिक, व्यवहारिकसँगै पोषनको पाटोमा महिलाको ठूलो भूमिका हुन्छ । यसबाट महिलालाई उद्यमसँग जोडिन सहजता थपिएको छ ।’
गाउँपालिकाले उन्नत जातको गाई वितरणले उत्साह थपिएको वडा नं १ श्यामशिलाकी किसान पासाङदिकी शेर्पाले बताइन् । गाई वितरणले आयआर्जनमा जोडिन सहज भएको उनको भनाइ छ ।
‘मैले स्थानीय जातका गाई पाल्दै आएकी थिए,’ उनले भने, ‘अहिले गाउँपालिकाले उन्नत जातको गाई दिएको छ । गाई वितरणले हामीलाई उत्साह थपिएको छ । उत्पादन भएको दूध यही नै बिक्री हुन्छ । यो कार्यक्रम हामी किसानको लागि निकै उपयोगि छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया