रवि लामिछानेविरुद्ध चितवनमा पनि सहकारी ठगी अभियोगमै मुद्दा दर्ताका लागि फाइल तयार 

लोकपथ
546
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि सहकारी ठगी अभियोगमै मुद्दा दर्ताका लागि फाइल तयार भएको छ । 

अनुसन्धान प्रतिवेदनमा पूर्वगृहमन्त्री लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ । उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीको राय छ ।

सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलका अनुसार, चितवनस्थित सहारा सहकारी ठगीमा अनुसन्धान सकेर प्रहरीले लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । 

‘प्रहरीबाट फाइल आइसकेको छ, हामीले अध्ययन गरिरहेका छौँ, यसबीच लगातारजसो बिदा परेकाले माघ २२ गतेभित्र अदालतमा अभियोजन दर्ता गरिसक्ने तयारीमा छौँ,’ जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता लुइँटेलले भने । 

बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराउनुपर्ने प्रहरीको राय छ । यस्तै सहकारीबाट त्यो भन्दा बढी रकम जीबीसहितका प्रतिवादीका नाममा रहेका विभिन्न ५ वटा कम्पनीमा गएको निष्कर्ष प्रहरीले निकालेको छ । ती कम्पनीमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ गएको प्रहरीको अनुसन्धानमा उल्लेख गरिएको छ । जसमध्ये गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएको छ ।

जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख, नेचर हब्समा ९ करोड ७३ लाख र बाँकी रकम स्प्रिङ उड रियलस्टेट एन्ड हाउजिङ प्रालि र नेचर नेस्ट कम्पनीका नाममा गएको पाइएको छ।

यसमध्ये कसलाई कति बिगो कायम गर्ने भन्ने जिल्ला सरकारी वकिल कार्यालयले अन्तिम टुंगो लगाउने छ । 

रवि लामिछाने आइतबार मात्र बुटवलस्थित सुप्रिम सहकारी ठगीमा रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादी (लामिछाने) ले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी हाललाई धरौटीमा छोड्ने आदेश दिएका थिए ।  

सुप्रिम सहकारी ठगी र संगठित अपराधमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा माघ ६ मा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो । अभियोगपत्रमा लामिछानेमाथि २ करोड व्यक्तिगत तथा उनीसहित २२ जनाविरुद्ध सहकारी ठगीमा ५५ करोड ५९ लाख ८३ हजार बिगो मागदाबी गरिएको छ । यस्तै, संगठित अपराधमा लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलविरुद्ध १० करोड ९९ लाख ३६ हजार बिगो कायम हुनुपर्ने दाबी छ । सहकारी ठगीमा ६ देखि ८ वर्ष कैद र संगठित अपराधमा थप ५ वर्ष कैद सजाय हुनुपर्ने मागदाबीसमेत छ ।

यसअघि गत वैशाख ३ मा सुप्रिमको रकम अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले ‘अनुसन्धान नगरी उन्मुक्ति दिएको’ थियो । लामिछानेलगायतविरुद्ध ४४ जनाले गत असोज ५ मा पूरक जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । लामिछाने भने पोखराको सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि कात्तिक २ मा पक्राउ परेका थिए । कास्की प्रहरीको हिरासतमा रहेकै बेला उनलाई रुपन्देही ल्याएर सुप्रिम सहकारी ठगीका विषयमा बयान लिइएको थियो ।

लामिछानेले पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्कीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?