सियोल । गत डिसेम्बरमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको धब्बा फेला परेको सोमबार सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
गत डिसेम्बर २९ मा थाइल्यान्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमानमा चालक दलका सदस्यसहित १८१ जना यात्रु सवार थिए ।
दुर्घटनाग्रस्त उक्त विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा खराब हवाई दुर्घटना थियो ।
दक्षिण कोरियाली र अमेरिकी अन्वेषकहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्, चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याको रूपमा परीक्षण गरिएको छ ।
दुर्घटनास्थलबाट बरामद गरिएका दुवै इन्जिनको निरीक्षण गरिएको र दुवै इन्जिनमा चराको रगतको धब्बा र प्वाँख फेला परेको प्रतिवेदनमा उल्लेख छ ।
‘चालकले धावनमार्ग ०१ नजिक आइपुग्दा चराहरूको एक समूह पहिचान भएको जनाएका र सुरक्षा क्यामेराले एचएल ८०८८ लाई चराहरूको समूहको नजिक आउँदै गरेको भिडियो खिचेको भेटिएको छ,’ जेटको दर्ता नम्बर उल्लेख गर्दै रिपोर्टमा भनिएको छ ।
विमान दुर्घटना हुनुअघिका क्षणहरूमा इन्जिनले काम गर्न छोडेको थियो वा थिएन भन्नेबारे भने केही बताइएको छैन ।
डिएनए विश्लेषणले प्वाँख र रगत साइबेरियाबाट जाडो याममा कोरिया आउने बैकाल गैरी (बैकल टिल्स) नामक प्रवासी चराहरूको रहेको हुनसक्ने बताएको छ ।
रिपोर्टमा ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुवैले विपत्तिको चार मिनेट अघि नै काम गर्न छोडेको भेटिएको उल्लेख गरिएको छ ।
विमानमा मुख्य चालकले (क्याप्टेन) कोे छ हजार ८०० घण्टाभन्दा बढी उडान गरेको र सहायक चालकले एक हजार ६५० घण्टाभन्दा बढी उडान गरेको अनुभव थियो । दुर्घटनामा दुवैको मृत्यु भएको थियो भने दुई जना परिचारिका मात्र बाँचेका थिए ।
जेजु विमान अवतरणका क्रममा कङ्क्रिटको तटबन्धमा ठोक्किँदा आगोको ज्वालासहित विस्फोट भएको थियो, जसले धावनमार्गको अन्त्यमा किन यस्तो प्रकारको अवरोध राखिएको थियो भन्ने प्रश्न खडा गरेको छ ।
गत हप्ता अधिकारीहरूले राष्ट्रव्यापी विमानस्थलहरूमा यस्ता कंक्रिटका अवरोधहरूलाई अन्य सजिले ‘तोड्न सकिने संरचनाहरू’ द्वारा प्रतिस्थापन गर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया