कांग्रेसबाट सरकारलाई पूर्ण साथ छ, पछि हामी पनि साथ दिन्छौँ : प्रधानमन्त्री ओली

लोकपथ
147
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसबाट सरकारलाई पूर्ण साथ दिएको दाबी गरेका छन् ।

सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र पछि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गरे । त्यस्तै प्रधानमन्त्री ओलीले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गरे ।

त्यस्तै उनले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताए ।

‘अब नेपालमा विकासको क्रममा अगाडी बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली काँग्रेस र नेकपा एमालेले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ,’ उनले भने ।

फरक प्रशंगमा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आईसियूमा रहेका बेलाका तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाए ।

‘मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आईसियू कक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आईसियूमा बसेको देखाउँछन्,’ उनले भने ।

ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका ऐक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?