काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरुले अनुसन्धान र अभियोजनको कामलाई तिव्रता दिन जरुरी रहेको बताएका छन् ।
सोमबार सम्पती शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले वित्तीय अपराध न्युनिकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरुले समन्वयात्मक रुपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा अन्तर्राष्ट्रिय संस्थाहरुले बनाएको मापदण्ड परिपालना र आफैले निर्माण गरेको कानून र नियमावलीहरुको कार्यान्वयनमा उत्कृष्ट हुनुपर्नेमा जोड दिए ।
उनले निर्दोष दण्डित हुँदैन र दोषीले उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्ने उल्लेख गरे । उनले सम्पती शुद्धीकरणमा दोषी भएका जो कसैलाई पनि दण्डित गरिने उल्लेख गरे । उनले निर्दोष दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसावले आउने दिनमा प्रभावकारी काम हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उल्लेख गरे । उनले धेरै मुलुकहरु यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्ने प्रयासमा रहेको बताए । उनले नेपाल सरकारले पनि आवश्यक कानुन् निर्माण केही प्रयास गरिरहेको बताए ।
उनले भने, ‘सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्रै समस्या नभएर विश्वकै समस्या हो । धेरै मुलुकहरु यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्नका लागि प्रयास गर्दै आएका छन् । नेपाल सरकारले पनि केही प्रयास गरिरहेको छ । सरकारले आवश्यक कानुन निर्माण गरेको छ । नियम, संरचना निर्माण गरेको छ । अनुसन्धान र अभियोजनका कामकारबाहीलाई अघि बढाएको छ । यसरी केही महत्वपूर्ण काम गरेकै छ । तर यो बीचमा जति गर्न सक्नुपर्ने हो त्यति गर्न सकेका छैनौँ । सम्पत्ति शुद्धीकरणको विषयमा नेपालले विश्वसामु उच्च मनोबलका साथ प्रस्तुत हुन सक्थ्यो । त्यो अवस्था रहेको छैन । पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि बढ्न सक्नुपर्ने थियो । कुनै अनुसन्धानमा छैनौं । कसुर जन्य सम्पती शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाएका छौं भनेर गर्व गर्नसक्ने हुनुपर्ने थियो । तर यो बीचमा प्रभावकारी र तत्परताका साथ कामहरु हुन सकेका छैनन् । आउने दिनमा अन्तर्राष्ट्रिय संस्थाहरुको परिपालना र आफैले निर्माण गरेको कानूनको कार्यान्वयनमा हामी उत्कृष्ट हुनुपर्छ । अनुसन्धान अभियोजनको कामलाई तिब्रता दिन जरुरी छ । निर्दोष दण्डित हुँदैन । दोषीले पनि उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्छ । सम्पत्ति शुद्धीकरणमा दोषी भएका जो कसैलाई दण्डित गर्छ । निर्दोष कसैले पनि भयवित हुनुपर्दैन । उनीहरु दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसावले आउने दिनमा प्रभावकारी काम हुनेछन् । हामी देशभित्र विश्वसामु सम्पती शुद्धीकरण निवारणको प्रश्नमा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्नेछौं भन्ने अपेक्षा छ ।’
त्यस्तै उपप्रधानमन्त्री पौडेलले अनुसन्धान र अभियोजनका काम,कारबाहीलाई अघि बढाएको उल्लेख गरे । उनले यो बीचमा सम्पती शुद्धीकरण निवारणका लागि धेरै काम गर्नुपर्ने भएपनि सोचेअनुसार काम नभएको स्वीकार गरे । उनले नेपालको पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि बढ्नसक्ने अवस्था नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया