चार दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध

लोकपथ
35
Shares

दार्चुला । सदरमुकाम खलङ्गा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भीरमा सडक अवरुद्ध भएको हो ।

शुक्रबार सडक चौडा बनाउने क्रममा पहिरो खसेको थियो । पहिरोमा परी स्काभेटर चालक रेशम बुढामगर गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो ।

एक मात्रै मुख्य राजमार्ग अवरुद्ध बनेपछि साना तथा ठूला सवारीसाधन दुईतर्फ रोकिएका छन् । धनगढी, महेन्द्रनगर, काठमाडौंबाट आउने बस तथा जीप किम्तडीबाट फर्किरहेका छन् । साथै मालवाहक ट्रक पनि रोकिएका छन् ।

खलङ्गामा रोकिएका बस, जिप बसपार्कमा थन्किएका छन् । एम्बुलेन्स पनि चल्न पाएका छैनन् । वैकल्पिक मार्ग नहुँदा खलङ्गासम्मको आवतजावत ठप्प भएको जनाइएको छ । सो लोकमार्ग अवरुद्ध हुँदा सदरमुकाम खलङ्गा अध्ययन गर्न आउने बालबालिका जोखिममा छन् ।

सदरमुकाम नजिकै रहेको सडक अवरुद्ध हुँदा बालबालिकाले जोखिम मोलेर आवतजावत गर्नु परेको अभिभावकको गुनासो छ । महेन्द्र नमूना मावि खलङ्गा र एसियन अकाडमीको स्कुल बस रोकिएका छन् । त्यसका कारण धाप, दत्तु, किम्तडीलगायत ठाउँबाट आउने विद्यार्थी मर्कामा परेका छन् । विद्यार्थीलाई भिरको बाटो हिँडाउँदा निकै जोखिम भएको महेन्द्र नमूना माविका प्रधानाध्यापक दामोदर जोशी बताउँछन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयले सडक खुलाउन सडक डिभिजन बैतडीलाई पत्रचार गरेको छ । आइतबार कार्यालयलाई सडक मर्मत तथा सञ्चालन गर्न पत्रचार गरेको हो । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सडक चौडा गर्ने क्रममा खसेको पहिरोले सदरमुकाम खलङ्गासम्म आवतजावतमा कठिनाइ भई नागरिकको जनजीवन कष्टकर भएको जनाएका छन् ।

प्रशासनको पत्रचारपछि निर्माण व्यवसायीले एक–दुई दिनभित्र पैदल बाटो खुलाउने जनाएको छ । सडक पूर्ण रुपमा सञ्चालन हुन भने केही समय अझै लाग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?