बालुवाटारमा प्रधानमन्त्री ओली सरहकै कुर्सीमा आगामी प्रधानमन्त्री ‘देउवा’

लोकपथ
1.2k
Shares

काठमाडौं । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ताहरुढ दलहरुको बैठक बस्यो ।

आज साँझ बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

आजको बैठकमा आगामी संसद्को हिउँदे अधिवेशनदेखि सरकारले हालै ल्याएको अध्यादेशबारे समेत छलफल भएको छ ।

आजको बैठकमा कांग्रेस सभापति देउवालाई समेत प्रधानमन्त्री ओली सरहकै कुर्सीमा राखिएको छ । अन्य बेलामा प्रधानमन्त्री अग्र भागमा बस्ने र अन्य नेताहरु प्रोटोकल अनुसार बस्ने चलन रहेको थियो । तर आजको बैठकमा भने देउवालाई समेत प्रधानमन्त्री ओली सरहकै कुर्सीमा राख्नुले सरकारमा संलग्न दुवै दल थप एकतावद्ध रहेको सन्देश दिन खोजिएको हुनसक्ने एक नेता बताउँछन् ।

त्यसो त पछिल्ला दिनहरुमा विपक्षी दलका शीर्ष नेताहरुले सरकारको आयु धेरै नभएको आलोचना गरिरहेका छन् । यता सत्ता पक्षका नेताहरु भने सरकारको आयुबारे कुनै अनुमान नगर्न आग्रह गर्दै प्रतिरक्षा गर्दै आइरहेका छन् ।

आजै प्रधानमन्त्री ओलीले कांग्रेसले आफू नेतृत्वको सरकारलाई पूरापूर सहयोग गरेको भन्दै थप विश्वासको वातावरण बनाएका थिए ।

प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट पारेका थिए ।

विपक्षी दलहरुले निरन्तर सरकारको आयुबारे प्रश्न उठाइरहँदा प्रधानमन्त्री ओलीले भने सत्तारुढ मुख्य दलको आफूलाई दर्बिलो साथ रहेको देखाउने संकेतका रुपमा देउवालाई समेत आफ्नै हैसियत सरहको कुर्सी दिएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?