काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्याउने सरकारले लक्ष्य रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ऊर्जा ट्रान्समिनस तथा न्यून कार्बन उत्सर्जन इकोनोमिक सम्मेलनमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले विकास निर्माण गर्दा जोखिम न्यूनीकरण गर्ने हिसाबले ऊर्जा क्षेत्रको विकासलाई मुलुकको आवश्यकता परिपूर्ति गर्नु पहिलो चाहना भएको बताए ।
उनले सरकारले प्रत्येक मानिसले प्रयोग गर्ने प्रतियुनिट ऊर्जालाई वृद्धि गरी आगामी १० वर्षमा प्रतिव्यक्ति १ हजार ५ सय युनिट पुर्याउने लक्ष्य राखेको बताए । उनले सरकारले वातावरणीय प्रभाव न्यूनीकरणका विषयलाई पनि सँगै लिएर हिँडेको बताए । सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य प्राप्तिका लागि काम गरिरहेको बताए ।
जलविद्युत उत्पादन र प्रशारणलाइनमा देखिएका समस्या पहिचान गरेर सरकारले समाधान गर्ने प्रतिबद्धता जनाए । उनले नीतिगत हिसाबले सुधार गरेर जलविद्युत लगानीकर्ताहरूको लागी मार्ग प्रशस्त गर्ने बताए ।
उनले लगानीकर्ताले गर्ने जलविद्युत उत्पादनको काममा अवरोध सिर्जना हुने वातावरण नदिने उल्लेख गरे । उनले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्न जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया