काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पारे ।
बैठक सकिएपछि प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाएका थिए ।
सोही कुराको खण्डन गर्दै उनले आफूले बैठकमा संसदमा पेस भएका विधेयकहरूलाई कानुनको रूप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रूपमा टुङ्ग्याउनुपर्ने कुरा राख्दा अतिरञ्जना फैल्याइएको बताए ।
उनले कानुन निर्माण गर्ने प्रक्रिया छिटो हुनुपर्ने बताए । उनले कुनै पनि विधेयक संसदमा पेस भएको कति दिनभित्रमा कानुनको आकार ग्रहण गर्ने हो ? भन्ने कुराको निश्चितता र समयसीमा हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया