बालुवाटारको स्पष्ट संकेत : ओलीबाट सहजै हुनेछ देउवामा सत्ता हस्तान्तरण

लोकपथ
714
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आइतबार एक सार्वजनिक कार्यक्रममा वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरूको असक्षमताबारे प्रश्न उठाए ।

अहिलेका प्रधानमन्त्रीदेखि अब हुने प्रधानमन्त्रीले भन्दा आफूलगायत आफ्ना पुस्ताका नेताहरूले राम्रोसँग काम गर्न सक्ने भन्दै चुनौती दिए । अहिले उनको दल कांग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा छन् भने सहमति अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा ओलीपछि प्रधानमन्त्री बन्नेछन् ।

गगनको सिधा चुनौती थियो, एमालेबाट सत्ता खोसेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने होइन पूर्व प्रधानमन्त्रीहरूको क्लबबाट देशलाई बाहिर निकालौँ र कुर्सीमा नयाँ मान्छे विराजमान होओस् !

‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्ने कुरा म अहिले पनि विश्वास गर्दछु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दाबाका साथ भन्न सक्छु,’ उनले भनेका थिए ।

असार १७ पछि निरन्तर डर र त्रासमा वर्तमान कांग्रेस–एमाले गठबन्धनले दिनहरू गन्ती गरेरै सत्ता चलाइरहेको छ । त्यसमाथि अझ सत्ताबाट एकाएक उछिट्टिएको माओवादीले विभिन्न मोर्चाबन्दी बनाइरहँदा त्यसको थप ‘प्रेसर’ सरकारमाथि परेको देखिन्छ । अझ दुई ठूला दलको मिलनबाट लोकतन्त्रमा पर्न सक्ने खतराबारे सरकार जानकार नै थियो । यहीबीच समृद्धिका लागि भन्दै दुई दलको मिलनबाट समेत यथेष्ट परिणाम दिन नसकेको विषयले वर्तमान सरकार परिवर्तन भएमा अर्को विकल्प के भन्ने प्रश्न यत्रतत्र छ । जसकारण दुवै दल र शीर्ष नेताहरू दैनिक जसो आफ्नो प्रत्येक भाषणमा एक अर्काप्रतिको विश्वास रहेको भन्न छुटाउँदैनन् ।

पटक पटकको धोकापूर्ण राजनीतिका कारण होला– स्वयं प्रधानमन्त्री नै सरकारको स्थायित्वबारे बोल्दै हिँडिरहेका छन् । त्यतिमात्र होइन अन्य विपक्षी दलका नेताहरूको अभिव्यक्तिपछि कतै सत्ताको सहयात्री दलले आफ्नो मति फेर्ला कि भन्दै सरकार आगामी निर्वाचनसम्मै जानुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा रहन्छ ।

त्यतिमात्र होइन प्रधानमन्त्री ओलीलाई राम्रो साथ दिएका कांग्रेस सभापति शेरबहादुर देउवासमेत आफूहरूले सरकारलाई चिढ्याउने कुनै काम गर्न चाहँदैनन् । असार १७ को सहमतिअनुसार ओलीपछि छैटौँ पटक प्रधानमन्त्री बन्ने पालो पर्खिरहेका देउवा यसबीचमा गडबडी होस् भन्ने चाहँदैनन् । कांग्रेसबाटै सरकारमा सामेल कतिपय मन्त्रीले काम गर्न नसकेको मात्र नभएर नैतिक आचरणमा समेत प्रश्न उठिरहँदा समेत देउवाले त्यसबारे कुनै चासो देखाएका छैनन् । त्यतिमात्र होइन आफूहरू सरकारमा सामेल भएर मात्र होइन आफूहरूले समर्थन नगरेको भए पनि प्रशंसा गर्न योग्य तरिकाले सरकारले काम गरिरहेकोभन्दै देउवाले ओलीप्रति सकारात्मक भाव व्यक्त गर्ने गरेका छन् ।

गत कात्तिक २७ गते एक सार्वजनिक कार्यक्रममा देउवाले भनेका थिए, ‘केपी शर्मा ओलीको नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ, हामी सरकारमा भएका कारण मात्रै भनेको होइन, प्रधानमन्त्री ओलीले साँच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानु हुनेछ ।’

तर कांग्रेसकै कतिपय पदाधिकारीहरू भने सरकारले गरिरहेको कामबारे त्यति सन्तुष्ट छैनन् । दुई ठूला दलहरूको मिलनबाट बनेको सरकारले जुन ‘स्प्रिट’मा काम गर्नुपर्ने हो त्यति गर्न नसकेको सार्वजनिक कार्यक्रममै आक्रोश व्यक्त गर्ने गर्छन् ।

सरकारलाई मुख्य सहयोगीको काम गरिरहेका कांग्रेस महामन्त्री गगन थापाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । सरकारले बिग्रिएको अर्थतन्त्रलाई लयमा ल्याउने बाटोमा काम गरिरहे पनि सोचेअनुसारको परिणाम दिने गरी काम गर्न नसकेको उनको टिप्पणी छ ।

यता विपक्षीहरूले समेत मोर्चाबन्दी बनाइरहेका अवस्थामा सरकार कामको फेहरिस्त सुनाउने भन्दा पनि सरकारको स्थायित्वबारे आम कार्यकर्ताहरूलाई आश्वस्त बनाउने काममा प्रधानमन्त्री ओली बढी उद्धत देखिन्छन् ।

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर विपक्षी दलहरूको अनुमान अनुमान मात्रमा सीमित हुने दाबी गरे । साथै नेकपा एमाले र कांग्रेसले जनतासँग गरेको संकल्प अनुसार काम गरिरहेको भन्दै अहिले कांग्रेसको राम्रो साथ पाएको र भोलि आफूहरूले पनि कांग्रेसलाई राम्रो साथ दिने बचन दिए ।

‘देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नेछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेकपा एमालेले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ । अहिले कांग्रेसबाट सरकारलाई राम्रो साथ छ, पछि हामी पनि कांग्रेसलाई यसैगरी साथ दिनेछौँ,’ कांग्रेसलाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भनेका थिए ।

ओलीले त्यति मात्र भनेनन्, सोही दिन साँझ बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा देउवालाई आफ्नै हैसियतअनुसार नै राखे । सत्तारुढ दलको बैठकमा ओलीले अरु बेला आफू अग्रभागमा बस्ने र अरू सामान्य अवस्थामा नै बस्ने गरी कुर्सी मिलाइएको हुन्थ्यो । तर सोमबारको बैठकमा भने ओलीले देउवालाई आफूँसँगैको कुर्सीमा राखे । त्यसलाई देउवा र कांग्रेस नचिढ्याउने र आफू प्रधानमन्त्री भए पनि सहमति अनुसार आगामी प्रधानमन्त्री देउवा पनि प्रधानमन्त्री बराबरकै हैसियतमा राखेको सन्देशको रूपमा हेरिएको छ ।

यदि राजनीतिक सहमति नतोडिए ओलीपछि देउवा प्रधानमन्त्री बन्नेछन् । २०८१ साल असार १७ गते बनेको सहमति अनुसार ओली प्रधानमन्त्री नियुक्त भएको मितिले २ वर्ष यानेकी ०८३ साल असार २९ गते ओली प्रधानमन्त्री बन्नेछन् । त्यसपछि भने बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बनी ०८४ सालको निर्वाचन गराउनेछन् ।

त्यसो त अझै डेढ वर्ष ओली प्रधानमन्त्रीको कुर्सीमै रहन्छन् । यसबीचमा सरकार सञ्चालनमा कुनै दरार नआओस् भन्दै ओलीले देउवा र कांग्रेसलाई विश्वासमा पारिराख्न कुर्सीको दुरी थप नजिक बनाएको चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?