जनतालाई सुखी र खुसी बनाउन तीन तहकै सरकारले काम गरिरहेका छन् : राष्ट्रपति पौडेल

लोकपथ
42
Shares

तनहुँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले संघीय, प्रदेश र स्थानीय सरकार जनताको खुसीका लागि विकासको काममा जुटेको उल्लेख गरे । 

नेपाल चाँडै उन्नतिको बाटोमा अगाडि बढ्ने बताउँदै राष्ट्रपति पौडेलले भने, ‘अरू मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ । नेपालमा केही भएन भनेर निराशा व्यक्त गर्ने होइन । अब सबै मिलेर नेपाल बनाउने बेला आएको छ ।’ उनले कृषि क्रान्ति गरेर उद्योग व्यवसाय स्थापना गरी गाउँमा नै रोजगारी र आम्दानी गराउनेतर्फ सरकार लागिपरेको उल्लेख गरे । उनले भने, ‘नेपाली जनतालाई सुखी र खुसी बनाउन चाहन्छौँ  । राज्यले त्यहीअनुसार काम गरिरहेको छ ।’

राष्ट्रपति पौडेलले सहिदको बलिदानीका कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सहिदले देखाएको बाटो भुल्न नहुने बताए। नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्र स्थापनाका लागि सहिदको भूमिका अतुलनीय रहेको पौडेलको भनाइ थियो ।

उनले भने, ‘प्रजातन्त्र स्थापनाका लागि पुलिमराङको पनि महत्त्वपूर्ण भूमिका छ । विसं २००७ को क्रान्ति होस् या २०१८ सालको क्रान्तिमा  सहिदको बलिदानी महत्त्वपूर्ण रह्यो । पुलिमराङ सहिदको भूमि हो ।’ राष्ट्रपति पौडेलले पुलिमराङसम्म आउने बाटो छिट्टै कालोपत्रे हुने बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?