स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
49
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयंसेवीलाई सरकारले सहयोग गर्ने बताएका छन् ।

शहीद दिवसका अवसरमा नेपाली कांग्रेस टोखा नगर कार्यसमितिले जनकल्याण सामाजिक केन्द्रसँगको सहकार्यमा आज आयोजना गरेको निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग गर्ने बताए ।

‘स्वास्थ्य क्षेत्रमा शिविर राख्नका लागि आवश्यकपर्ने जनशक्ति र औषधि सरकारले सहयोग गर्छ,’ उनले भने ।

स्वास्थ्यमन्त्री पौडेलले काठमाडौं निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्ने सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्नका लागि कांग्रेसले अगुवाई गर्नसमेत आग्रह गरे । आँखा शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामीको सूची बनाएर शल्यक्रियाका लागि शिविर गरिने उनको भनाइ थियो ।

कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले टोखाका बासिन्दालाई स्वस्थ राख्न आगामी दिनमा टोखाभरि यस्ता कार्यक्रम सञ्चालन गरिने बताए ।

नेपाल नेत्रज्योति सङ्घ र आँखा अस्पताल तथा अध्ययन केन्द्रसँगको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५० व्यक्तिले आँखाको जाँच गरेको र तीन सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए ।

काठमाडौंको टोखामा सञ्चालित जनकल्याण सामाजिक केन्द्रले हालसम्म काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा पुगेर तीन सय ५२ पटक निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । सोही अवसरमा आँखा शिविर सञ्चालन गर्न सहयोग व्यक्तिलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?