ट्रम्पलाई अदालतको अर्को झट्का, वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश 

लोकपथ
483
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने भनी गरेको निर्णय कार्यान्वयन नगर्न त्यहाँको अदालतले आदेश दिएको छ । यो आदेशसँगै ह्वाइटहाउस पछि हटेको छ ।

विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पछि हटेको हो ।

उक्त निर्णयले अमेरिकी सरकारको सहायतामा भर पर्ने लाखौँ व्यक्तिमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पको सो निर्णयले विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौँ प्रोजेक्टहरू बन्द हुने र ती क्षेत्रमा संलग्न व्यक्तिहरूको रोजगारी पनि संकटमा पर्ने चिन्ता व्यक्त हुँदै आएको थियो ।

राष्ट्रपति ट्रम्पले यही २० जनवरीमा शपथ ग्रहणपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरूमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको जन्मको आधारमा दिने नागरिकता स्थगनको निर्णयमा पनि अदालतले अंकुश लगाइसकेको छ । ट्रम्पले उक्त निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न र रोक्न न्यायाधीशले आदेश गरिसकेका छन् । एक साताअघि भएको सुनुवाइपछि न्यायाधीश जोन कोगेनाउरले यो निर्णय लिएका थिए । उनले ट्रम्पको निर्णयलाई स्पष्ट असंवैधानिक भनेका थिए । अमेरिकी भूमिमा जन्मने बित्तिकै नागरिकता दिने चलन सुरुवाती दिनमा संविधानमा थिएन । दशकौँ पछि यो थपिएको हो ।

सन् १८६८ मा गृह युद्धको अन्त्यपछि भएको १४ औँ संशोधनले यसलाई स्वीकार गरेको थियो । १३ औँ संशोधनले दास प्रथाको अन्त्य गर्दै दासहरूको सन्तानको नागरिक अधिकारको बारेमा बहस सुरु भएको थियो ।

त्यसपछि १४ औँ संशोधनमा यसलाई समावेश गरिएको थियो । यस संशोधनमा यस अघि सन् १८९८ मा अन्तिम पटक बहस भएको थियो । त्यसको १२७ वर्षसम्म यो प्रावधानमा कुनै विवाद र बहस भएको थिएन ।

ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै जन्मको आधारमा दिने नागरिकता स्थगनको निर्णय गरेका थिए । ट्रम्पको निर्णयको विरुद्धमा न्यायालयमा निवेदन परेको थियो । ट्रम्पको निर्णयका कारण यसै वर्ष जन्मिएका तथा जन्मन लागेका हजारौँ बालबालिकाको भविष्य संकटमा परेको दाबीसहितको निवेदन परेको थियो ।

ट्रम्पको निर्णय कार्यान्वयन नगर्न न्यायाधीशले आदेश जारी गरेलगत्तै ट्रम्पले गरेका अरू निर्णयहरू के हुन्छन् भन्ने आम चासोको विषय बनेको छ । अमेरिकामा ट्रम्पले गरेको जन्मको आधारमा नागरिकता प्रचलनको अन्त्य पछि कानुनी निकाय तथा आप्रवासीको समस्याका बारेमा धेरै बहसहरू भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?