काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले सरकारले ल्याएको अध्यादेशबारे विरोध गर्ने भएका छन् ।
आज सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले संसद् अधिवेशन आह्वान गर्ने बेला सरकारले अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको हो ।
भोलिबाट संसद् बैठक बस्दैछ । भोलिबाट सुरु हुने संसद्को अधिवेशनमा सरकारले ल्याएको अध्यादेशबारे एकस्वरमा विरोध गर्ने निर्णय गरेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकपछि बताए ।
‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, प्रक्रियाका हिसाबले पनि गलत छ र संसदको अर्थ समितिमै छलफल भएको विधेयकलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ,’ माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भने,‘यसमा सबै विपक्षी दलहरूले गलत भयो भन्ने निष्कर्ष निकालियो र त्यसलाई अस्वीकार गर्ने निर्णय भयो ।’
माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरूको सहभागिता थियो ।
त्यसो त सरकारले ल्याएको अध्यादेशबारे विपक्षी दलहरुले विरोध जनाउँदै आइरहेका छन् ।
त्यसो त सरकारले भोलिबाट यसअघि जारी भएका सबै अध्यादेशहरु संसद्मा पेस गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया