काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी छिट्टै रिहा हुने आशा पलाएको छ ।
इजरायलको टाइम्स अफ इजरायलमा प्रकाशित समाचारका अनुसार रिहा हुने सूचीमा एक नेपाली पनि रहेका छन् । त्यो भनेको विपिन जोशी हुन् । अध्ययन र रोजगारीको शिलशिलामा इजरायल पुगेका विपिन २०२३ अगष्ट ७ मा इजरायल–प्यालेस्टाइन युद्धपछि हमासको कब्जामा रहेका थिए । विपिन हमासको कब्जामा रहेको भनिए पनि जिवित थिए या मृत थिए भन्ने कुनै खुलेको थिएन । बुधबार प्रकाशित समाचार अनुसार रिहा हुने सूचीमा नेपाली रहेको बताइएपछि विपिन रिहा हुने आशा पलाएको हो ।
इजरायली अधिकारीहरुका अनुसार आज हमासले ५ थाई नागरिकसहित ८ जना बन्धकलाई रिहा गर्दैछ । तर त्यसमा भने विपिन समावेश छैनन् ।
टाइम्स अफ इजरायलका अनुसार हमासले आज रिहा गर्नेमध्ये ३ जनाको नाम मात्र सार्वजनिक गरेको छ । जसमा ८० वर्षीय गादी मोशे मोजेस, २९ वर्षीय अर्बेल येहुद र १९ वर्षीय अगाम बर्गर रहेका छन् ।
‘इजरायलले पनि नाम नलिइकन पाँच थाई बन्धकहरूलाई रिहा गर्ने पुष्टि गरेको छ । गाजामा एक नेपाली र एक तान्जानियनसहित आठ थाई बन्धकहरू अझै छन् । यद्यपि, इजरायलले तान्जानियाले जस्तै दुई थाई नागरिकलाई मृत घोषणा गरेको छ,’ समाचारमा बताइएको छ ।
इजरायलले बुधबार पनि हमासलाई बन्धकहरू शिरी बिबास र उनका दुई साना केटाहरूः एरियल र केफिरको अवस्था स्पष्ट गर्न माग गरेको थियो । बन्धक–युद्धविराम सम्झौताको सर्तहरू अन्तर्गत, हमासले पहिले जीवित बालबालिका र महिला नागरिकहरूलाई रिहा गरेको मानिन्छ, त्यसपछि जीवित महिला सैनिकहरू, वृद्ध र अशक्त पुरुषहरू,रिहा गर्ने बताइन्छ ।
डेढ वर्षदेखि हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि नेपाल सरकारले मध्यस्तकर्ता देशहरुसँग समन्वय गरिरहेको थियो । नेपालले कतार, अमेरिका लगायत देशहरुसँग विपिनको रिहाइका लागि पहल गरेको थियो ।
पछिल्लो पटक गत जनवरी १९ मा दुई देशबीच युद्धविरामको सहमति भएको थियो । जसमा हमास समूहको बन्धक बनेका ३३ जनाको रिहाइ गर्ने सर्तमा सहमति भएको थियो । जसमा इजरायली र विभिन्न विदेशी नागरिकहरु समेत समावेश छन् ।
इजरायल–प्यालेस्टाइनबीचको युद्धविराम विभिन्न चरणमा कार्यान्वयन हुनेछ ।
युद्धविरामको पहिलो चरणमा १९ जनवरीदेखि सुरु भएको युद्धविराम आगामी मार्च १ सम्म लागू हुनेछ। पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना सात सय मिटर पछि हट्ने सहमति भएको थियो ।
युद्धविराम अघि इजरायलको न्याय मन्त्रालयले पहिलो चरणमा ७३७ प्यालेस्टिनी रिहा हुने बताएको थियो । इजरायलले हरेक दिन आफ्नो एक बन्धकको बदलामा ३३ प्यालेस्टिनीलाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी एक महिला सैनिकको बदलामा ५० प्यालेस्टिनीलाई रिहा गर्ने छ ।
त्यसो त पहिलोचरणको युद्धविरामको चरण सबै राम्रोसँग कार्यान्वयन भएमा दोस्रो चरणका लागि वार्ता हुनेछ ।
यसक्रममा भने दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति भएको छ ।
त्यस्तै दुवै चरण पार भएसँगै युद्धविरामको तेस्रो चरणमा कार्यान्वयन हुनेछ ।
तेस्रो चरणमा इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रमा पुनर्निर्माण सुरु हुनेछ । पुनर्निर्माणको काम ३ देखि ५ वर्षभित्र सक्ने लक्ष्य छ । यसक्रममा कब्जा लिइएको अवस्थामा मृत्यु भएका बन्धकहरुको शव पनि आदान–प्रदान गरिने छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया