भोजपुर । वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै आएको सडक कालोपत्रे भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ ।
बढी मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिब दुई किलोमिटर सडक कालोपत्रे गरिएपछि स्थानीयलाई सहजता भएको हो । कोसी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय अन्तर्गत दुई किमी सडक कालोपत्रे सम्पन्न भएको हो ।
यस आर्थिक वर्षमा दुई करोड २० लाख लागतमा दोस्रो खण्डको बाह्र सय मिटर सडक कालोपत्रे सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । गत आर्थिक वर्षमा पहिलो खण्डको आठ सय मिटर कालोपत्रे सम्पन्न गरिएको उनको भनाइ छ ।
दुई आर्थिक वर्षमा दुई किमी सडक निर्माण सम्पन्न भएको उनले जानकारी दिए । ‘सातिघाट–दिङ्ला सडक कालोपत्रे गरिरहेका छौँ’ प्रमुख रेड्डीले भने,‘यो सडकमा बर्षेनी थोरै थोरै मात्र बजेट आउने गरेको छ । यो आर्थिक वर्षमा करिब बाह्र सय मिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।’
उत्तरी क्षेत्रको लागि निकै महत्वपूर्ण सडक भएपनि राज्यबाट कम मात्र बजेट विनियोजन हुँदा थोरै/थोरै मात्र सडक कालोपत्रे गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । राज्यले यस्ता महत्वपूर्ण सडकलाई बहुवर्षिय सडकमा राखेर प्राथमिकताका साथ बजेट विनियोजन गर्नु पर्ने उनले बताए यो सडक खण्डको कुल लम्बाई बाह्र किलोमिटर रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया