विवादास्पद डीआईजी धौबजीलाई पनि ‘आईजी एपीएफ कमेन्डेसन’, अवार्डको गरिमामाथि नै उठ्यो प्रश्न

लोकपथ
728
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले संगठनलाई प्राप्त विभिन्न कार्यादेशहरूको सम्पादन प्रभावकारी एवं उत्कृष्ट ढंगबाट गरी संगठनको गरिमा राख्ने कार्य गर्नेलाई प्रदान गर्दै आएको ‘आईजी एपीएफ कमेन्डेसन’ विवादित अधिकृतहरूलाई पनि दिन थालेपछि अवार्डको महत्वमाथि नै प्रश्नचिन्ह खडा भएको छ । 

२४ औँ सशस्त्र प्रहरी दिवस–२०८१ का अवसरमा नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालीदास धौबजी (आईडी नम्बर ६८९) लाई समेत यो अवार्ड प्रदान गरिएपछि धेरैले नाक खुम्च्याएको र अवार्डकै मानमर्दन गरिएको चर्चा सशस्त्र मुख्यालयमा हुन थालेको छ । 

बाहिनीपति धौबजी तिनै अधिकृत हुन्, जसलाई बाहिनीमा रहेर उचित कार्यसम्पादन गर्न नसकेको भन्दै २४ औँ सशस्त्र प्रहरी दिवसभन्दा केही दिनअघि प्रधान कार्यालयमा स्पष्टीकरणका लागि बोलाइएको थियो । त्यसपछि चार दिन सशस्त्र प्रहरी मुख्यालयको घाम तपाएर आगामी दिनमा राम्रो काम गर्नु भन्दै अल्टिमेटम दिँदै उनलाई बाहिनी कार्यालय पठाइएको थियो । 

उनीभन्दा अघि नै उनीमातहतका दुई जना गणपति, मटिहर्वा बाराका गुल्मपति विदुर भट्टराई, नवराजपुर बीओपी सिराहाका सशस्त्र प्रहरी निरीक्षक रोशन थापा, धनुषा ८ नं गण मातहतको बीओपी फूलगामा कार्यरत गणेश बोहोरा र समसिओपी, महोत्तरीका कृष्ण गुरुङलाई सशस्त्र मुख्यालय बोलाइएको थियो । उनीहरूलाई सशस्त्र प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले लामो समयको निगरानीपछि दिएको रिपोर्टको आधारमा प्रधान कार्यालय बोलाइएको थियो । 

उनीमातहतका अधिकांश गणपति, गुल्मपति र बीओपीपतिको कार्यक्षमतामाथि प्रश्न उठ्दा बाहिनीपति धौबजीलाई भने पुरस्कृत गरिनु अली नसुहाउँदो र अचम्मलाग्दो भएको सशस्त्रका अधिकृतहरू बताउँछन् । 

बाहिनीपति धौबजी तिनै डीआईजी हुन्, जसले नेपाल–भारत सीमा क्षेत्रमा सहकार्य गर्नेबारेमा दुई देशका डीआईजीस्तरको समन्वयात्मक (कोअर्डिनेसन) बैठकको खर्चमा समेत अनियमितता गरेका थिए । गत कात्तिक ६ गते बर्दिबासमा भएको सो बैठकको खर्च राज्यको तर्फबाट गर्नुपर्नेमा बाहिनीपति धौबजीले मधेस प्रदेशका ८ वटा गण र दुई वटा रिजर्भ गणबाट भाग नै लगाएर असुलेका थिए । उनले आठ वटा गणबाट प्रतिगण ९६ हजार ८ सय रुपैयाँ र २ वटा रिजर्भ गणबाट ५० हजारका दरले रकम असुलेका थिए ।

सो बैठकमा भारतका डीआईजी, बटालियन कमान्डरहरूको उपस्थिति रहेको थियो । नेपालतर्फबाट भने बाहिनीपति डीआईजी धौबजी, सहायक बाहिनीपति, मधेस प्रदेशका जिल्लाका गणपतिको उपस्थिति रहेको थियो । बैठकमा आपसी समन्वय तथा सहकार्य गरी बोर्डर इलाकाको सरसफाइ पोस्टहरूको निर्माण, बोर्डर पिलरहरूको मर्मत सम्भार जस्ता कुराहरूबारे छलफल भएको थियो ।

तर, बैठकको खर्च भने बाहिनी कार्यालयबाट नतिरी गणहरूलाई तिर्न लगाएको भन्दै गणपतिहरू नै रुष्ट बनेका थिए । बैठकमा भएको खर्चभन्दा बढीको बिल बनाएर रकम असुलेको आरोप पनि गणपतिहरूले लगाएका थिए । कोअर्डिनेसन मिटिङको खर्च बाहिनीको शिष्टाचार पाहुना खर्चअन्तर्गत आएको बजेटबाट गर्नुपर्ने हुन्छ । तर भारतीय समकक्षीसँग राखिएको बैठकको खर्च गणपतिबाट उठाएर अतिथि सत्कारका लागि राखिएको रकम कुन कोषबाट खर्च गर्ने भन्ने प्रश्न डीआईजी धौबजीमाथि यसअघि पनि उठेको थियो ।

डीआईजी धौबजीलाई पदीय आचरणअनुरूपको काम नगर्ने, पैसाका लागि जस्तोसुकै काम गर्न पनि पछि नपर्ने, मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई मानवीय व्यवहार पनि नगर्ने अधिकृतका रूपमा चिनिन्छ । बाहिनीपतिका रूपमा उनको आठ महिने कार्यकालमा मधेस प्रदेशमा दुई जना सशस्त्र प्रहरी अधिकृतले अनाहकमा ज्यान गुमाइसकेका छन् । केही समयअघि मात्रै सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सर्लाहीमा भेप तस्करीको आशंकामा बस रोक्न खोज्दा सोही बसले बसले किचेर मृत्यु भएको थियो ।

सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणकुमार यादवलाई मंसिर १६ गते मदिरा तस्करीको गाडीले किचेर मारिएको परिवारजनको आरोप छ । नेपाल–भारत सीमा क्षेत्र बरियारपट्टी गाउँपालिका–१ कचनारीमा त्यस दिन मदिरा तस्करले सई यादवको किचेर हत्या गरेका थिए । गस्तीमा खटिएका यादवले मदिरा बोकेको जिपलाई रोक्ने क्रममा उनलाई ठक्कर दिएर भागेको थियो । गाडीले ठक्कर दिएर मृत्यु हुनुअघि सई यादवले डीआईजी धौबजीले मदिरा तस्करी नरोक्न दबाब दिएको पनि बताएका थिए ।

उनको यस्तो आचरणका कारण सशस्त्र प्रहरी मुख्यालयले केही दिनअघि सोधपुछका लागि समेत बोलाएको थियो । तर उनले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अतिरिक्त महानिरीक्षकहरूलाई आफूले राम्रो काम गरेको, गणपति र गुल्मपतिहरुले मासिक रूपमा आफूलाई पैसा दिन आए पनि आफूले अस्वीकार गरेको, तस्करी नियन्त्रणमा राम्रो काम गरेको जवाफ दिएका थिए । 

धौबजी यस्ता भाग्यमानी डीआईजी हुन्, जो डीआईजी भएपछि लगातार कमान्डमा छन् । डीआईजी भएपछि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा पहिलो कमान्ड गरेका उनको त्यसपछि नम्बर ४ बाहिनी पोखरामा सरुवा भएको थियो । पोखरा बाहिनीबाटै उनी नम्बर २ बाहिनीमा सरुवा भएका थिए । धौबजी शक्तिकेन्द्रलाई रिझाउन माहिर व्यक्तिका रूपमा समेत चिनिन्छन् ।

उनका यी तीन ओटै कमान्ड भने विवादमुक्त रहेन । उनीमाथि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थको समादेशक रहेका बेला म्युजियम बनाउन भन्दै मातहतको तालिम कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको तर नाम मात्रको भवन बनाएको आरोप लागेको थियो ।

उनको यी तीन ओटै कमान्ड भने विवादमुक्त रहेन । उनीमाथि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थको समादेशक रहेका बेला म्युजियम बनाउन भन्दै मातहतको तालिम कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको तर नाम मात्रको भवन बनाएको आरोप लागेको थियो

उनको यी तीन ओटै कमान्ड भने विवादमुक्त रहेन । उनीमाथि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थको समादेशक रहेका बेला म्युजियम बनाउन भन्दै मातहतको तालिम कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको तर नाम मात्रको भवन बनाएको आरोप लागेको थियो ।

यस्तै पोखरामा हुँदा बाहिनीपति निवासनजिकै गेस्ट हाउस बनाउने भन्दै मातहतका कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको आरोप लागेको थियो । पोखरामा हुँदा मातहतका गणपति र गुल्मपतिबाट मासिक रूपमा रकम उठाएको आरोप पनि उनीमाथि छ । उनी बाहिनीपति रहेकै बेला तनहुँस्थित गणका गणपति कमल गैरेलाई सशस्त्र मुख्यालयले फिर्ता बोलाएको थियो । डीआईजी धौबजीलाई नियमित रूपमा रकम बुझाउनु पर्ने भएपछि तत्कालीन गणपति गैरेले ठूलो संख्यामा सशस्त्र कर्मचारी ‘आउट’ छाडेर राशनको रकममा घोटाला गरेका थिए ।

यस्तै, मधेस प्रदेशको बाहिनीपति भएपछि पनि उनले अन्य ठाउँमा जस्तै त्यहाँ पनि भवन बनाउने भन्दै त्यस क्षेत्रका व्यापारी र सशस्त्र प्रहरीका गणपति, गुल्मपति र बेसपतिहरु रकम उठाएका थिए । डीआईजी धौबजीले जथाभाबी रूपमा रकम माग्न थालेपछि व्यापारी र सशस्त्र प्रहरीकै अधिकृतहरूले सशस्त्र मुख्यालयमा गुनासो नै गरेका थिए । उनीमाथि रासनको पैसा खान बाहिनीमा कार्यरत आधाभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरू छाड्ने गरेको आरोप पनि छ ।

काठमाडौं कोटेश्वर घर भएका उनले अवैधरुपमा आर्जन गरेको रकमबाट बारास्थित सशस्त्र प्रहरी गणसँगै दुई बिघा, खोटाङको सशस्त्र प्रहरी गुल्मसँगै एक बिघा जग्गा जोडेका छन् । यस्तै, भक्तपुरको कौशलटारमा तीन रोपनी क्षेत्रफलमा बनेको ४० ओटा सटर भएको घर, बोडेगाउँमा पनि जग्गा छ । नीलबाराही गणको गणपति हुँदा उनले एपीएफ अस्पताल बलम्बुनजिक दुई रोपनी जग्गा किनेका थिए । 

डीआईजी धौबजी २०५२ साल असोज २६ गते नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक (सई) मा प्रवेश गरेका व्यक्ति हुन् । प्राविधिक पृष्ठभूमि भएकाले उनीमा कमान्ड कन्ट्रोल पनि देखिँदैन । प्राविधिक सईमा प्रवेश गरेर डीआईजी बनेका उनलाई नेपाल प्रहरीका अधिकृतहरूले डीआईजीका रूपमा स्विकार्न नसकेको स्रोतको भनाइ छ । 

यो पनि

ओली सरकारले यसरी बढायो सशस्त्रमा गैरव्यवसायिक खिचातानी

सशस्त्रमा ‘यूएन मिसन उत्कृष्ट कर्मचारी छनौट’मा चरम बदमासी

स्पष्टीकरणका लागि प्रधान कार्यालय बोलाइएका सशस्त्रका एसपीहरुलाई यो शर्तमा जान दिइयो कार्यक्षेत्र

डीआईजी नै ठगिए, डिजेल मिसिएको पेट्रोल पनि जानाजानी बिक्री

सशस्त्रका एसपी डाँगीले बाँकेमा केसम्म गरेनन् ?

सशस्त्रमा चार डीआईजीको म्याद थप्ने र रोक्ने खेलमा कसले मार्ला बाजी ?

सशस्त्रको वार्षिकोत्सवको मुखैमा मधेस प्रदेशका बाहिनीपति डीआईजी धौबजीमाथि मुख्यालयको ‘एक्सन’

सशस्त्र प्रहरीमा ‘ज्वाइँ’ को जहिले पनि रजगज

प्रहरी विधेयकमा गृहमन्त्री लेखकको मनमौजी, सुझाव बेवास्ता गरिएको भन्दै दुवै संगठनमा असन्तुष्टि

प्राविधिक पृष्ठभूमिका डीआईजी प्रधानलाई नयाँ दरबन्दी नै थपेर एआईजी बनाउन चलखेल

नेतृत्वले ‘छलछाम’ गरेको भन्दै असन्तुष्टि पोख्दैछन् सशस्त्रका डीआईजी प्रधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?