काठमाडौं । ओखलढुंगाको हर्कपुरमा टाटासुमो दुर्घटना हुँदा आमा छोरासहित तीन जनाको मृत्यु भएको छ ।
ओखलढुंगाको सिद्धिचरण राजमार्गमा पर्ने मानेभन्ज्याङ–७ भँडारे खोला भन्ने ठाउँमा गए राति ना १ ज ६४२१ टाटासुमो दुर्घटना हुँदा केपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी कृष्ण खड्काका अनुसार, मृतक मायादेवी र तारा गुरुङ दिदी बहिनी हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की तारा बिरामी भएपछि उपचारको लागि काठमाडौं आउँदै गर्दा सुमो दुर्घटना भएको हो ।
घरमै आगोले पोलेपछि तारा गुरुङ उपचारको लागि खोटाङ जिल्ला अस्पताल पुगेकी थिइन् । जिल्ला अस्पतालका चिकित्सकले थप उपचारको लागि उनलाई काठमाडौं लैजान भनेपछि उनीहरू राति नै टाटोसुमो रिजर्भ गरेर काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो ।
गाडी सडकबाट झन्डै एक सय मिटर तल खसेको छ । टाटासुमो चालक सुनसरीको इनरुवा नगरपालिका– २ का २२ वर्षीय अनिल पण्डित दुर्घटनापछि फरार छन् । उनको खोजी भइरहेको डीएसपी कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया