काठमाडौं । भारतको उत्तराखण्डस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा विश्वभरका लाखौँले अवलोकन गरिसकेका छन्, भने विश्वभरबाट महाकुम्भमा जानेको घुइँचो लागिरहेको छ ।
केही दिन अघि त्यहाँमा मानिसहरुको भीडभाडका कारण भएको भागदौडमा दर्जनौँको मृत्यु समेत भएको थियो । महाकुम्भमा स्नान गर्न जानेहरु त्यहीँ हराइरहेका समेत घटनाहरु सार्वजनिक भइरहेका छन् ।
यद्यपि यहीबीच एक व्यक्ति हराएको २७ वर्षपछि साधुको भेषमा फेला परेका छन् । भारतको झारखण्डका गंगासागर यादव सन् १९९८ मा पटना जाँदा हराएका थिए । उनी हराएको लामो समय भइसकेकाले परिवारले उनको आशा समेत मारिसकेको थियो । तर जारी महाकुम्भमा उनै ६५ वर्षीय गंगासागर साधुको भेषमा देखिए । अघोरी बाबा बताउने उनको नाम अहिले ‘राजकुमार बाबा’ रहन गएको छ ।
एकाएक गंगासागर हराएपछि उनकी श्रीमती धन्वा देवीले आफ्ना दुई छोराहरु कमलेस र भीमलेसलाई एक्लै हुर्काएकी थिइन् ।
परिवारले समेत आशा मारिसकेका गंगासागरलाई सुरुमा महाकुम्भमा आएका एक नातेदारले देखे । उनले ती गंगासागरको तस्बिर खिचे र उनको परिवारलाई देखाए । त्यसपछि ती नातेदारको सहयोगमा धन्वादेवी आफ्ना दुई छोराहरु लिएर महाकुम्भमा पुगिन् ।
तर बाबा राजकुमारले भने आफू गंगासागर रहेको अस्वीकार गरे । भेटका क्रममा उनले आफू बनारसीबाट आएको साधु रहेको बताउँदै आफ्नो पहिलेको जीवनबारे केही थाहा नभएको बताए । तर परिवारले भने उनको शरिरका विभिन्न पहिचानका आधारमा उनी गंगासागर नै भएको दाबी गर्दै आइरहेका छन् । धन्वादेवीसहित परिवारका सदस्यहरुले लामो दाँत, घुँडामा देख्न सकिने दाग र निधारको चोटका आधारमा उनको पहिचान गरेको हो ।
राजकुमार बाबा नाम बताउने ती साधुले निरन्तर आफू पहिलेको गंगासागर नरहेको दाबी गरिरहेपछि धन्वा देवी र उनका देवर मुरली यादवले भने उनको डीएनए टेष्ट गर्ने तयारी गरेका छन् ।
आफूहरु महाकुम्भ मेलाको अन्तिमसम्म पर्खिने र अन्तिमसम्म पनि उनले स्वीकार नगरेमा आफूहरुले डीएनए टेष्ट गरेर पत्ता लगाउने उनका भाइ मुरली यादवले बताएका छन् ।
‘हामी कुम्भ मेलाको अन्त्यसम्म पर्खिनेछौँ र आवश्यक भएमा डीएनए परीक्षणका लागि जोड दिनेछौँ । यदी परीक्षण मेल खाएन भने बाबा राजकुमारसँग माफी माग्नेछौँ,’ उनले भनेका छन् ।
परिवारका केही सदस्यहरु घर फर्किए पनि केही सदस्यहरु भने त्यँही रहेका छन् । उनीहरुले बाबा राजकुमारको रेकी गरेर बसिरहेका छन् ।
गंगासागर बेपत्ता हुँदा उनको जेठो छोरो दुई वर्षका मात्र रहेका थिए भने अर्को छोरो जन्मिएका समेत थिइनन् । उनी बेपत्ता भएको केही समयपछि कान्छो छोरो भीमलेसको जन्म भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया