ओखलढुंगा दुर्घटना : घटनापछि फरार चालक पण्डित भक्तपुरमा भेटिए, के भने प्रहरीलाई ?

लोकपथ
1.3k
Shares

काठमाडौं । ओखलढुंगामा बुधबार राति तीन जनाको ज्यान जाने गरी भएको टाटासुमो दुर्घटनापछि फरार रहेका चालक भक्तपुरमा फेला परेका छन् । 

सामान्य घाइते अवस्थामा फेला परेका सुनसरीको इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डितको अहिले भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुइँटेलका अनुसार, चालक पण्डितले टाटासुमो पल्टिएपछि राति नै आफू अर्को गाडीमा लिफ्ट मागेर उपचारमा आएको बयान दिएका छन् । 

दुर्घटनालगत्तै उनी आफन्तसँग समन्वय गरेर सुरुमा धुलिखेल अस्पताल पुगेका थिए । त्यसपछि मध्यपुरठिमीस्थित भक्तपुर इन्टरनेशनल अस्पताल गएका थिए । 

‘टाटासुमो भिरबाट खसेपछि मलाई होस भएन । मैले सक्दै सकिनँ भन्छन्, उनी आफैँ पनि सामान्य घाइते छन्,’ अर्का प्रहरी निरीक्षक सञ्जु कार्कीले भनिन्, ‘उपचारमा रहेको मान्छेलाई धेरै सोधखोज गर्ने कुरा पनि भएन । उनलाई हामीले निगरानीमा राखेका छौँ । अस्पतालबाट डिस्चार्ज भएपछि कानुनी कारबाही प्रक्रिया र थप अनुसन्धान अघि बढाउँछौँ ।’

बुधबार राति खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौंतर्फ आउँदै गरेको ‘पूर्व खोटाङ यातायात प्रालि’को ना १ ज ६४२१ नम्बरको सुमो शुक्रबार बिहान ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा परेर आम छोरासहित तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुज् गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङ रहेकी छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की तारा बिरामी भएपछि उपचारको लागि काठमाडौं आउँदै गर्दा सुमो दुर्घटना भएको हो । घरमै आगोले पोलेपछि तारा गुरुङ उपचारको लागि खोटाङ जिल्ला अस्पताल पुगेकी थिइन् । जिल्ला अस्पतालका चिकित्सकले थप उपचारको लागि उनलाई काठमाडौं लैजान भनेपछि उनीहरू राति नै टाटासुमो  रिजर्भ गरेर काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो ।

टाटासुमो भिरबाट झण्डै एक सय मिटर तल खोलाको बगरमा खसेको अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?