काठमाडौं । अमेरिकाको वासिङ्टन डिसीस्थित रोनाल्ड रेगन विमानस्थल नजिक सेनाको हेलिकप्टरसँग ठोक्किएर दुर्घटनामा परेको अमेरिकी एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । खोजीकार्यका क्रममा ब्ल्याक बक्स भनिने विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको हो ।
ब्ल्याक बक्समार्फत यो समस्या वास्तवमा कहाँ भयो पत्ता लगाउन सम्भव हुनेछ । सीबीएसका अनुसार, राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा ब्ल्याक बक्स जाँच गरिनेछ ।
संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीस्थित विमानस्थलमा अवतरण गर्न लागेको सो विमान अमेरिकी सेनाको ब्ल्याक हक हेलिकोप्टरसँग आकाशमा ठोक्किएर पोटोम्याक नदीमा खसेर दुर्घटना भएको थियो ।
विमानमा चालक दलका चार सदस्यसहित ६४ जना र हेलिकप्टरमा तीन जना थिए ।
यो समाचार लेख्दासम्म ५० जनाको शव फेला परेको छ । १७ जना अझै बेपत्ता छन् । ती सबैको निधन भइसकेको आशंका गरिएको छ ।
क्यान्सस राज्यबाट उडेको सो जेट विमान राजधानी वासिङ्टन डीसीको मध्यभागमा अवस्थित रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो । सो विमान रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा सो घटना भएको सीबीएस न्युजले जनाएको छ । हेलिकोप्टर भने भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो ।
रेगन विमानस्थल व्यस्तमध्येमा पर्ने गर्छ । त्यहाँ राजधानीमाथिको हवाई मार्गमा प्रायः विमानहरूको चाप रहने गर्छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ । दुर्घटनाग्रस्त हेलिकोप्टर सग्लो नै रहेको तर पानीमा उत्तानो परेर खसेको अवस्थामा भेटिएको छ ।
बिबिसीका अनुसार उद्धारका लागि करिब ३ सय आपत्कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ । रातको समय र वासिङ्टनको तापक्रम कम भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ । वासिङ्टन डीसीका आगलागी तथा आपत्कालीन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरले अँध्यारो र धमिलो पानी भएकाले उद्धारमा कठिनाइ भएको बताएको सीएनएनले जनाएको छ ।
सीएनएनका अनुसार रेगन विमानस्थलमाथि दुर्घटना हुनुभन्दा केही बेरअघि एक एयर ट्राफिक कन्ट्रोलरले सेनाको ब्ल्याक हक हेलिकोप्टरलाई अमेरिकन एयरलाइन्सको यात्रुवाहक जेट देखिएको छ कि छैन भनेर प्रश्न गरेका थिए । एयर ट्राफिक कन्ट्रोलले फेरि सो हेलिकोप्टरलाई अर्को चेतावनी दिएको थियो । तर, त्यसको केही सेकन्डमै हेलिकोप्टर र विमान ठोक्किएको थियो ।
एयर ट्राफिक कन्ट्रोलरले हेलिकोप्टर चालकलाई प्रश्न सोधेको सुनिने अडियो ‘लाइभ एटीसी’ले सार्वजनिक गरेको छ । अडियोमा एयर ट्राफिक कन्ट्रोलले दिएको चेतावनीपछि हेलिकोप्टर चालकले कुनै प्रतिक्रिया दिएको सुनिँदैन । तर, अडियोको आधिकारिकता पुष्टि हुन बाँकी छ ।
सो विमानमा केही स्केटिङ खेलाडी, प्रशिक्षक र तिनका आफन्त चढेका जनाइएको छ । उनीहरू विचिटामा आयोजित एउटा कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा रहेका जनाइएको छ । सो विमानमा रुसका दुई फिगर स्केटर र प्रशिक्षक पनि थिए ।
यस दुर्घटनालाई संयुक्त राज्य अमेरिकामा सन् २००९ पछि व्यावसायिक विमानमा भएको सबैभन्दा ठूलो मानिएको छ । सो वर्ष फेब्रुअरी महिनामा नेवार्क न्युजर्सीबाट उडेको कन्टिनेन्टल एयरलाइन्सको एउटा यात्रुवाहक विमान बफेलो न्युयोर्कस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा घरमा गएर जोतिएको थियो । सो दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो ।
यस्तै, सन् २००१ को नोभेम्बर महिनामा जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकन एयरलाइन्सको विमान उड्नेबित्तिकै दुर्घटनामा पर्दा २ सय ६५ जनाको मृत्यु भएको थियो ।
यस्तै, १३ जनवरी १९८२ मा एयर फ्लोरिडाको विमान वासिङ्टन नेसनल एयरपोर्टबाट उड्नेबित्तिकै पोटोम्याक नदीको पुलमा ठोक्किएको थियो । त्यस दुर्घटनामा ७८ जनाको ज्यान गएको थियो ।
ट्रम्पको प्रश्न ः हेलिकोप्टरले विमानलाई किन बाटो दिएन ?
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी एयरलाइन्सको विमान र सैनिक चढेको सैन्य हेलिकोप्टर आपसमा ठोक्किएर भएको दुर्घटनाप्रति टिप्पणी गर्दै हेलिकोप्टरले विमानलाई किन बाटो दिएन भनेर प्रश्न गरेका छन् ।
‘विमान विमानस्थलतर्फ जाँदै थियो, हेलिकोप्टर निकै समयदेखि सिधै विमानतिर गइरहेको थियो, सफा रात थियो, विमानका बत्तीहरू पनि चम्किरहेका थिए तर हेलिकोप्टर किन मोडिएन ? अथवा ऊ किन माथि र तल सरेन ?’ राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘कन्ट्रोल टावरले विमान देखेको भए, उसले हेलिकोप्टर चालक दललाई के गर्ने भनेर किन भनेन ? यो खराब अवस्था थियो, यसो हुनबाट रोक्नुपथ्र्यो, यो ठीक भएन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया