टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा

लोकपथ
126
Shares

कास्की । आयोजक टोली टाइगर ग्रुप पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो क्वालिफायरमा टाइगर ग्रुप पोखराले टिपटप न्यू डायमण्ड स्पोट्स क्लबलाई ३–१ सेटले पराजित गरेको हो । 

पहिलो सेट १६–२५ अंकले गुमाएको टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९ अंकले, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२३ अंकले आफ्नो पक्षमा पारेको हो । टाइगर ग्रुपले उपाधिका लागि आइतबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पराजित भई तेस्रो भएको न्यू डायमण्डले एक लाख ८५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । 

प्रतियोगितामा पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान  पाँच लाख ८५ हजार पाँच सय ५५ तथा द्वितीय हुने टोलीलाई समान  दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् । महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीलाई जनही  २५ हजार सात सय ७७ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?