काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले बिदा लिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले उनको कार्यकाल नवीकरण नगरेसँगै उनले बिदा लिएका हुन् ।
सन् २०२३ जनवरी १० मा क्यानले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । तर क्यानले उनको कार्यकाललाई नबढाउने निर्णय गरेसँगै उनी बिदा भएका हुन् । जाँदाजाँदै देसाईँले खेलाडी, आफ्ना फ्यान, क्यान नेतृत्वसहित नेपाली जनतालाई छ्ट्टाछुट्टै सम्बोधन गर्दै उनले धन्यवाद ज्ञापन गरेका छन् ।
साथै उनले नेपाललाई आफ्नो ‘घरबाहिरको घर’ को संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै खेलाडीहरुका लागि मैदानमा सदा अविचलित रहँदै खेल्न आग्रह गरेका छन् ।
‘तिमीहरूले लाखौँको सपनाहरू बोकेका छौँ । मैदानमा अविचलित रहनु, एक–एक बल खेल्ने मानसिकता बनाउनु र बाउन्ड्रीहरु निकालिराख्नु । सम्बन्ध, खुलापन, एकता र उत्तरदायित्वमा निर्मित ‘हेप्पि ड्रेसिङ रुम’ को आदर्श सधैँ तिमीहरूको शक्ति हुने छ,’ उनले भनेका छन् ।
जाँदाजाँदै उनले यस्तो लेखेका छन् :
प्यारो नेपाल
यो एउटा गुड बाइ होइन, हार्दिक धन्यवाद हो ।
१० जनवरी २०२३ मा मैले नेपाली क्रिकेटमा दिगो प्रभाव पार्ने आशामा उत्साह र उद्देश्यका साथ अज्ञातमा कदम चाल्दै नेपाल क्रिकेट एसोसिएसनसँगको अवसरलाई अँगालेँ ।
यी दुई वर्ष अविस्मरणीय रहे, जुन मनमोहक पलहरू र साझा कोशेढुंगाले भरिएको छ । टियू मैदानमा भएको एसिया कप छनोट, जहाँ फ्यानहरू कोही रुखमा चढेर त कोही छाता लिएर उभिएका थिए, र मुलपानीमा भएको विश्वकप छनोट जहाँ थामिनसक्नु भिड थियो, ले नेपालको जोश र लगावलाई प्रतिबिम्बित गर्थ्यो ।
यो यात्रामा आरोह अवरोहहरू थिए, र म क्यान व्यवस्थापन, छनोटकर्ता, खेलाडी, प्रशिक्षक, अफिसियल, स्कोरर, ग्राउन्ड्समेन, क्यामरामेन, कमेन्टेटर र मेरो कप्तान रोहित पौडेलसँग मिलेर सानो भूमिका निभाउन पाएकोमा आभारी छु । प्रत्येकले आफ्नो तर्फबाट योगदान दिए र हामीले निर्माण गरेको सौहार्दतालाई म गहिरो मूल्यांकन गर्छु ।
खेलाडीहरूका लागि
तिमीहरूले लाखौँको सपनाहरू बोकेका छौँ । मैदानमा अविचलित रहनु, एक–एक बल खेल्ने मानसिकता बनाउनु र बाउन्ड्रीहरु निकालिराख्नु । सम्बन्ध, खुलापन, एकता र उत्तरदायित्वमा निर्मित ‘हेप्पि ड्रेसिङ रुम’ को आदर्श सधैँ तिमीहरूको शक्ति हुने छ ।
सपोर्ट स्टाफहरूका लागि
पर्दा पछाडि तपाईँहरूको अथक प्रयास अमूल्य छ । मेरो चाहना हामीलाई उत्कृष्टतातर्फ धकेल्ने मात्र थियो । मेरो साथमा उभिनुभएकोमा धन्यवाद ।
फ्यानहरूलाई
तपाईँहरूको अटल समर्थन हाम्रो सबैभन्दा ठूलो शक्ति भएको छ । यो टोलीमा विश्वास राख्नुस् ।
क्यान म्यानेजमेन्टलाई
मलाई नेतृत्वको अवसर दिनुभएकोमा धन्यवाद । आधारशिला खडा भएको छ । एकताबद्ध रहनुस् र नेपाललाई गौरवान्वित राख्नुस् ।
नेपाली जनतालाई
नेपाल मेरो लागि घरभन्दा बाहिरको घर हो । यहाँ क्रिकेट कुनै खेलभन्दा बढी छ, यो एउटा भावना हो, जसले देशलाई एकजुट बनाउँछ ।
जय नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया