काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा हालसम्म ३४ करोड बढीले गंगा स्थान गरेका छन् । आज महाकुम्भको २१औँ दिनसम्म आइपुग्दा ३४ करोड ४९ लाख मानिसहरूले स्नान गरेका हुन् ।
त्यसो त आजै अपरान्ह १२ बजेसम्म ८८ लाख ८३ हजार भक्तजनले स्नान गरेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।
विश्वभरबाट मेला भर्न आएका भक्तजनहरुको हेलिकप्टरबाट सुरक्षाको निगरानी गरिएको छ । बसन्त पन्चमी स्नानलाई मध्यनजर गरेर सवारी साधनको इन्ट्रिलाई बन्द गरिएको छ । साथै फेब्रुअरी २ देखि ४ सम्मका लागि भीभीआईपी पास समेत बन्द गरिएको छ ।
यसैबीच मेलामा प्रहरी र साधुबीच झडप भएको भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा प्रहरीले साधुको गाडीलाई ब्यारियरमा रोकेको छ तर उनीहरू जबरजस्ती भित्र पस्न खोजिरहेका छन् । एक साधुले ब्यारिकेड भत्काएपछि प्रहरीसँग उनको चर्को बहस भएको थियो ।
त्यस्तै ४ फेब्रुअरीसम्मका लागि नयाँ गाइडलाइन समेत जारी गरिएको छ । जसमा भक्तजनहरूले आफ्नो सवारी शहर बाहिरै पार्किङ गर्नुपर्ने, सटल बस वा पैदल नै गंगा घाटसम्म जानुपर्ने, ठूला र साना सवारीका लागि छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था गरिएको समेत जनाइएको छ । गत जनवरी १३ बाट सुरु भएको कुम्भमेला आगामी फेब्रुअरी २६ मा सम्पन्न हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया