रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

लोकपथ
448
Shares

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आज सोमबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । यस्तै, ६ वटा संस्थाविरुद्ध पनि मुद्दा दर्ता हुने भएको छ ।

प्रहरीले दिएको पूरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी आज रवि, पूर्वडीआईजी छविलाल जोशीसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो । यस्तै, गोर्खा मिडिया प्रालि, साहारा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।

पूरक निवेदनसहित साहारा सहकारीको ४३ लाख ९४ हजार ६ सय ३१ रुपैयाँ फिर्ता पाउनुपर्ने मागदाबी प्रहरीको छ । दुवै निवेदनअनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ गएको प्रहरीको अनुसन्धानमा उल्लेख गरिएको छ । जसमध्ये गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएको छ । रविको निर्वाचन क्षेत्रमा पनि कार्यक्षेत्र रहेको सहारा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रुपैयाँ अवैध बाटोबाट लगानीका रूपमा भित्र्याएको संसदीय छानबिन समितिले पनि पत्ता लगाएको थियो ।

यस्तै, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख, नेचर हब्समा ९ करोड ७३ लाख र बाँकी रकम स्प्रिङ उड रियलस्टेट एन्ड हाउजिङ प्रालि र नेचर नेस्ट कम्पनीका नाममा गएको पाइएको छ ।

गत मंसिर पहिलो साता २४ बचतकर्ताले रविसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी ग्रुप अफ कम्पनीका सेयरधनी सिन्धुलीको दुधौली नगरपालिका–२ का विशाल तामाङ, अर्का सेयरधनी नवीन अछामी, रबिना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ र रामबहादुर खनालविरुद्ध चितवन प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको थियो । अहिले उनीहरूसहित १४ जनालाई मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको थियो ।

सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा लामिछानेसहित १० जनाविरुद्ध ७ मंसिरमा चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदा उनी सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा थिए । कास्कीबाटै बयानका लागि उनलाई चितवन लगिएको थियो । त्यहाँ उनीसँग मंसिर १८ र १९ गते दुई दिन गरी २३ घण्टा बयान लिइएको थियो ।

रवि लामिछाने आठ दिनअघि मात्र बुटवलस्थित सुप्रिम सहकारी ठगीमा रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भएका थिए । रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादी (लामिछाने) ले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी हाललाई धरौटीमा छोड्ने आदेश दिएका थिए ।

सुप्रिम सहकारी ठगी र संगठित अपराधमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा माघ ६ मा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो । अभियोगपत्रमा लामिछानेमाथि २ करोड व्यक्तिगत तथा उनीसहित २२ जनाविरुद्ध सहकारी ठगीमा ५५ करोड ५९ लाख ८३ हजार बिगो मागदाबी गरिएको छ ।

यस्तै, संगठित अपराधमा लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलविरुद्ध १० करोड ९९ लाख ३६ हजार बिगो कायम हुनुपर्ने दाबी छ । सहकारी ठगीमा ६ देखि ८ वर्ष कैद र संगठित अपराधमा थप ५ वर्ष कैद सजाय हुनुपर्ने मागदाबीसमेत छ ।

यसअघि गत वैशाख ३ मा सुप्रिमको रकम अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले ‘अनुसन्धान नगरी उन्मुक्ति दिएको’ थियो । लामिछानेलगायतविरुद्ध ४४ जनाले गत असोज ५ मा पूरक जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । लामिछाने भने पोखराको सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि कात्तिक २ मा पक्राउ परेका थिए । कास्की प्रहरीको हिरासतमा रहेकै बेला उनलाई रुपन्देही ल्याएर सुप्रिम सहकारी ठगीका विषयमा बयान लिइएको थियो ।

लामिछानेले पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्कीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?