कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए

लोकपथ
112
Shares

काठमाडौं । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । 

कार्यालय प्रमुख विहीन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन् । गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आएका थियो । उनी गत पुस १४ गते सरुवा भएर गएपछि करिब एक महिनाअघि पोखराबाट रामचन्द्र अधिकारीलाई यस मालपोतमा प्रमुखका रूपमा तोकिए पनि उनी हालसम्म हाजिरी हुन आएका छैन । 

कर्मचारीले तलब नपाउने मात्र होइन कार्यालय प्रमुख नहुँदा नामसारी, घरजग्गासम्बन्धी अन्य कामहरू एवं आर्थिक कारोबारलगायत काम रोकिएको छ । सेवाग्राहीले समस्या भोग्नु परेको निमित्त कार्यालय प्रमुख पूर्णबहादुर गुरुङले बताए । उनले भने, ‘यतिका समय हुँदा पनि प्रमुख आउनु भएन, सम्पर्कविहीन जस्तै भएका छन्, यहाँ नआउने भए सरुवा फिर्ता लिए हुन्थ्यो, कि आउने भए बेलैमा आए कर्मचारीले तलब पाउने थिए, सेवाग्राहीले सेवाहरू प्राप्त गर्ने थिए ।’

गुरुङलाई निमित्त कार्यालय प्रमुख तोकिए पनि उनलाई आर्थिक एवं महत्त्वपूर्ण कार्यहरू गर्ने अधिकार दिएको छैन । सेवाग्राहीका महत्त्वपूर्ण काम गर्न आफूलाई अधिकार नभएकाले समस्या भइरहेको उनले बताए। उनका अनुसार २६ जना दरबन्दी रहेको यस कार्यालयमा जम्मा ८ जना मात्रै दरबन्दीका कर्मचारी रहेका छन् ।

यस मालपोत कार्यालयमा एक वर्षदेखि पटक पटक कार्यालय प्रमुख फेरिँदै आएको छ । पछिल्लो एक वर्षमा मात्र जिल्ला मालपोत कार्यालयमा तीन जना प्रमुखको आगमन तथा सरुवा भएको छ । कार्यालयमा प्रमुख एक महिनाभन्दा बढी नटिक्दा सेवाग्राही समस्यामा परेको उनीहरूको दुखेसो छ ।

यस वर्ष चिरिञ्जीवी पौडेल कार्यालय प्रमुख भएर आए तर एक महिनामै सरुवा भए । त्यसपछि जेठसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भयो । जेठ महिनामा हरेन्द्रकुमार श्रेष्ठ आए, तर असार महिनामै सरुवा भए । त्यसयता चार महिना निमित्तको भरमा सेवा प्रवाह हुँदै आएको थियो । पछिल्लो पटक गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आए   पनि उनी पनि पुस महिनामै सरुवा भए। त्यसयता कार्यालय प्रमुखमा कोही आएका छैनन् । प्रमुखका रूपमा कास्कीबाट अधिकारीलाई सरुवा गरिए पनि उनी लमजुङमा हाजिर नहुँदा समस्या भएको हो ।

यहाँ कार्यालय प्रमुखसँगै खरिदार ५ जना, कम्प्युटर अपरेक्टर एक जना, लेखापाल एक जना, तानासु (टाइसिन) एक जना, कार्यालय सहयोगी एक जना खाली रहँदै आएको निमित्त कार्यालय प्रमुख गुरुङको भनाइ छ । उनले भने, ‘दरबन्दीअनुसार कर्मचारी कम हुँदा सेवा प्रवाहमा समेत समस्या तथा कर्मचारीलाई बढी भार हुने गरेको छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?