बलात्कृत बालिकाकी आमाले शिक्षिकालाई फोन गर्दै भनिन्, ‘हाम्रो पक्ष (आरोपित)को कुरा पनि सुनिदिनोस्’

छोरीविरुद्ध बयान दिएर आरोपितकै पक्षमा आमा !

काठमाडौं । जावालाखेल बलात्कार प्रकरणमा आफ्नै छोरीको विरुद्ध बयान हुने गरी बयान दिएकी आमाले बलात्कारको मुद्दा दायर भएपछि सरकारी साक्षीलाई फोन गरी आफ्नो पक्षको पनि कुरा सुनिदिन भनेको खुलेको छ । पीडित बालिका पढ्ने स्कुलकी संयोजकलाई पीडितले आमाले फोन गरी आफ्नो पक्ष अर्थात् आरोपितको पक्षको पनि कुरा सुनिदिन आग्रह गरेको पाइएको हो ।

आफ्नै भिनाजु नाता पर्ने व्यक्तिबाट बलात्कृत भएकी १३ वर्षीय बालिकाको बुवाले आफ्नै सौतेनी ज्वाइँविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए । आफ्नी छोरीमाथि करणी गरेको कुरा छोरीले विद्यालयका सहपाठीलाई बताएपछि विद्यालयबाटै जानकारी आएपछि बालिकाका बुवाले जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएका थिए । त्यसपछि पक्राउ परेका प्रतिवादीको पक्षमा पीडितका आमासमेत लागिपरेको पाइएको हो । घटना विवरण कागज गर्ने क्रममा पीडित बालिकाकी आमाले आफ्ना पूर्व पतितर्फबाट जन्मिएकी छोरी श्रीमान् अर्थात् ज्वाइँविरुद्ध परेको जाहेरीमा छोरीको विपक्षमा रही ज्वाइँ निर्दोष रहेको भन्दै बयान दिएकी थिइन् । पीडितकी आमाले ज्वाइँ निर्दोष रहेको भन्दै बयान मात्रै दिइनन्, बरु करणीको घटनाबारे सबैभन्दा पहिले जानकारी पाउने युलेन्स स्कुलकी संयोजकलाई सम्पर्क गरी पीडितकै प्रतिकुल हुने गरी बयान गराउने कोसिस गरेको समेत पाइएको छ ।

पहिले जावालाखेल बलात्कार प्रकरण के हो, त्यो बुझौँ ।

२०८१ मंसिर २७ गते आफ्नी कान्छी छोरीलाई आफ्नो जेठी छोरीको बुढा अर्थात् ज्वाइँले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी पर्‍यो उक्त जाहेरीमा नातामा ज्वाइँ पर्ने व्यक्तिले नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको उल्लेख थियो ।

जाहेरीमा उल्लेख भए अनुसार घटना २०८० पुस १३ गतेको हो । ललितपुरको सानेपामा रहेको एक अपार्टमेन्टमा ज्वाइँ नाता पर्ने जलान थरका व्यक्तिले आफ्नी १३ वर्षीय छोरीमाथि जबरजस्ती करणी गरेकाले कारबाही गरिपाउन जाहेरी परेको थियो । घटना अनुसार २०८० पुस १३ गते बेलुकाको समयमा सौतेनी दिदीका श्रीमान् अर्थात् नातामा भिनाजु पर्ने व्यक्तिले ललितपुरकै एक स्कुलमा अध्ययन गर्ने १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेका थिए । खुमलटारमा आमा र अर्की सौतेनी दिदीसँग बस्दै आएकी ती बालिकाको आमा र सौतेनी दिदी चितवन जानुपर्ने भएकाले उनलाई दिदी भिनाजुसँग छाडिएको थियो । दिदी-भिनाजुकै फ्ल्याटमा बसिरहेको समयमा २०८० पुस १३ गते राती करिब ११ बजे मदिरामा लट्ठ भएका भिनाजुले १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेका थिए । सो घटना कसैलाई भने मारिदिनेसम्मको धम्की दिएको बालिकाको बयानमा उल्लेख छ ।

यद्यपि उक्त घटनाबारे बालिकाले आफ्नी आमा र सौतेनी दिदीलाई समेत बताएकामा उनीहरूले घटना गुपचुप राख्दै कसैलाई भने ज्यान जानेसम्मको चेतावनी दिएकी थिइन् । यद्यपि उक्त घटनाबाट पीडित ती बालिकाले आफू अध्ययन गर्ने विद्यालयकी संयोजक र साथीलाई पनि घटनाबारे बताइन् । तर बेलायतमा रहेका बुवालाई भने घटनाबारे बताउन सकिनन् ।

छोरीलाई गाली गरी कुटपिट गरेको सांकेतिक तस्वीर

घटनाबाट पीडित बनेकी ती बालिकाले आफ्नै आमा र दिदीबाट पनि सहयोग नपाएपछि विरक्त बनिन् र बेलायतमा रहेका बुवालाई फोन गरी आफू नेपालमा नबस्ने अडान लिइन् । त्यसबाहेक आमाको गतिविधि अस्वाभाविक रहेको र अपाच्य देखिएको भन्दै बुवालाई फोन गरी लिन आउन भनिन् ।

उनका बुवा बेलायतमै बस्ने र काम गर्ने गर्दथे । प्रारम्भकै उल्लेख भए अनुसार दिदी र भिनाजु सौतेनी दिदी भिनाजु थिए भने आमाको व्यवहार पनि सौतेनी जस्तै भएको गुनासो गर्थिन्, यद्यपि आमा उनकी आफ्नै आमा थिइन् ।

खासमा उनकी आमा र बुवाको भेट बेलायतमा भएको थियो । आमा नेपालबाट रोजगारीका लागि बेलायत पुग्दा पीडित बालिकाकी आमा र बुवाको भेट भएको थियो । स्टाफ नर्स रहेकी उनकी आमाको नेपालकै विवाह भई दुई छोरीहरूको जन्म भइसकेको थियो । नेपालमा श्रीमान् र छोरीहरू छाडेर बेलायत पुगेकी उनी बेलायतमा रहेका एक पुरुषसँग लिभिङ टुगेदरमा बसिन् । लिभिङ टुगेरदरकै अवस्थामा यी पीडित बालिकाको जन्म भयो ।

बालिकाको जन्म बेलायतमै भएपछि मात्रै उनकी आमाले नेपालमा रहेका पतिसँग सम्बन्ध विच्छेद गरिन् । त्यसपछि नेपालमा रहेकी दुई छोरीहरूलाई पनि बेलायतमै रहेका प्रेमी (पीडित बालिकाका बुवा)ले छोरी बनाएर बेलायत लगे । किनभने उनको बुवाले बेलायती नागरिकता प्राप्त गरिसकेका थिए भने आमाले प्राप्त गरेकी थिइनन् । त्यसपछि सन् २०१३ पछि पाँच जनाको यो परिवार बेलायतमै बस्न थाल्यो ।

तर सन् २०२१ पछि भने यो परिवारका सदस्यमध्ये महिलाका पहिलेका श्रीमानतर्फ का दुई छोरीहरू नेपाल फर्कने भए । महिला पनि कान्छी छोरीलाई समेत नेपालमै पढाउने भन्दै नेपाल आइन् र सुरुमा कपनमा बस्न थालिन् । नेपाल आएको समयमा चिनजान भएका भारतीय नागरिक परिवर्तित नाम अभिनव जलानसँग महिलाका पहिलेका पतितर्फका जेठी छोरीको चिनजान भयो । चिनजान भएको दुई महिनामै उनीहरुका बिचमा विवाह पनि भयो । ३३ वर्षीय भारतीय नागरिक अभिनव जलानले आफूलाई बाल्ट्रा कम्पनीको नेपालका इम्पोर्टर अर्थात् बाल्ट्राको साहु भनी चिनाए । त्यस लगत्तै उनीहरूको विवाह भएको थियो । हो, यिनै अभिनव र जेठी छोरीको जिम्मामा छाडेर गएकी नाबालिगमाथि जबरजस्ती करणी भएको थियो ।

सानी छोरीले बारम्बार नेपालमा नबस्ने भन्दै लिन बोलाएपछि हालका जाहेरवाला छोरीलाई लिन नेपाल आए र छोरीलाई लिएर बेलायत फर्किए । यहीबिचमा बालिकाको आमाको हर्क त अस्वाभाविक रहेको भन्दै विवाद बढ्दै गएपछि जाहेरवाला र पीडितकी आमाबिच अंश मुद्दा समेत दायर भयो ।

छोरीले नेपाल नबस्ने भनेपछि बालिकालाई बेलायत नै लगेर विद्यालयमा पढाउन थाले । नेपालमा आफूमाथि भएको घटनाबारे भने पीडित बालिकाले बुवालाई केही पनि भनिनन् ।

गएको डिसेम्बर महिनामा बेलायतकै विद्यालयबाट फोन आएर छोरीमाथि बलात्कार हुँदा पनि किन केस फाइल नगरेको भनेपछि पो जाहेरवाला छक्क परे । छोरीले विद्यालयकै सहपाठी र शिक्षकलाई आफूमाथि भएको घटना बताएपछि विद्यालयले नै जाहेरवालालाई खबर गरेको थियो । त्यसपछि छोरीसँग कुराकानी गर्दा उनीमाथि के भएको थियो भनी उनले थाहा पाए र तत्काल नेपाल आई जिल्ला प्रहरी परिसर, ललितपुरमा आफ्ना सौतेनी ज्वाइँविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरे ।

मंसिर २७ गते जाहेरी दर्ता भएपछि मंसिर २८ गते नै प्रहरीले अभिनव जलानलाई पक्राउ गर्‍यो भने त्यसपछि तीन दिन हिरासतमा बसेपछि उनी बिरामी परेको भन्दै अस्पताल भर्ना भई त्यहीँ बसेर हिरासत सकाए भने प्रहरीले पनि हिरासतबाटै बयान लियो ।

त्यसपछि पुस २३ गते ललितपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता भयो । पुस २३ गते दर्ता भएको मुद्दामा पुस २३ र २४ गते बकपत्र तथा थुनछेक बहस हुँदा तत्काल प्राप्त प्रमाणबाट निर्दोष मान्न सकिएन भन्दै न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए ।

आरोपित परिवर्तित नाम अभिनव जलान

न्यायाधीश आचार्यले उक्त मुद्दा निरन्तर सुनुवाइ गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै जाहेरवाला, पीडित, नेपाल सरकारका साक्षीहरूलाई २०८१ पुस २८ गते तथा पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई पुस २९ गते बकपत्रको लागि उपस्थित गराउनु भन्दै मिति नै तोकेर आदेश दिए । उक्त आदेशमा बकपत्र सम्पन्न भएपछि माघ ६ गतेका लागि पूर्ण सुनुवाइका लागि पेस गर्नु भन्नेसमेत उल्लेख थियो ।

तर पुस २८ र २९ मै सबैको बकपत्र सकिएन । जाहेरवाला र पीडित बालिका बेलायती नागरिक रहेको र बेलायत गइसकेको कारण उनीहरूको बकपत्र हुन सकेन । जाहेरवालाको तर्फबाट भर्चुअल बयानका लागि निवेदन प¥यो । त्यसपछि माघ १० गतेका भर्चुअल बकपत्र गर्ने मिति तय भयो ।

छोरीका विरुद्ध बयान दिने आमा वादीको साक्षी ?

यता जबरजस्ती करणीको कसुरमा आफ्नी छोरीकै विरुद्ध बयान दिने आमा र सौतेनी दिदीलाई पनि सरकारी साक्षीका रूपमा पेस गरिएको थियो भने पीडित बालिकाकी साथीको आमा र विद्यालयका संयोजकलाई पनि वादीका साक्षीका रूपमा राखिएको थियो । त्यसमध्ये पीडित बालिकाकी साथीमा आमासमेत रहेकी सरकारी साक्षी शोभा बानियाले अदालतमा पनि पुगेर बयान दिइन् ।

यता घटनाबारे सबैभन्दा पहिले थाहा पाउने अर्थात् २०८० पुसमा भएको घटनाको जानकारी २०८० माघमै पाएकी ललितपुरको युलेन्स स्कुलकी संयोजक शिखा गुरुङलाई भने अदालतले बयान नै नलिई अर्को दिन बोलाउँछौँ भन्दै फर्काइएको थियो ।
शिखा गुरुङ अदालतमा बयान दिनका लागि पुगेर पनि बयान दिन नपाएकी सरकारी साक्षी थिइन् । घटनाबारे पीडित बालिकाले सबैभन्दा पहिले बताएको व्यक्तिसमेत भएकाले शिखाको बकपत्र यो मुद्दामा अहम् साक्षी हुन्थ्यो । तर न्यायाधीश ऋषिराम आचार्यले आदेश गर्छु भन्दै झुक्क्याएर फैसला गरेको वादी र जाहेरवाला पक्षको आरोप छ ।

शिखाले लोकपथसँगको कुराकानीमा यस्तो बताएकी थिइन् :
‘म मेरो व्यक्तिगत कामले समयमै अदालत पुग्न सकेको थिइन । त्यस दिन आइतबार थियो र म ४ः३० बजेतिर अदालत पुगेकी थिएँ । तर अदालतका कर्मचारीले उक्त दिन ढिलो भएको भन्दै अर्को दिन बोलाउने भनी फिर्ता पठाइदिएका थिए । त्यसपछि म अदालतबाट फोन आउला भनी कुरेर बसेको थिएँ, तर फैसला भइसकेको रहेछ ।’

लोकपथसँगैको कुराकानीमा पीडित बालिकाको आमाले समेत फोन गरी आफ्नो पक्ष अर्थात् आरोपित पक्षको कुरा पनि सुनेर मात्रै अदालतमा बकपत्र गर्न भनेको सरकारी साक्षी एवम् विद्यालयकी शिक्षिका शिखा गुरुङले बताइन् । उनले भनिन्, ‘मलाई अदालतमा बकपत्र गर्ने समय आउनै लाग्दा पीडितकी आमाको फोन आएको थियो । उहाँले अदालतमा बकपत्र गर्नुभन्दा पहिले ‘हाम्रो पक्ष’को कुरा पनि सुनिदिनुहोस्, बच्चीको मात्रै कुरा सुनेर हुँदैन भन्नुभएको थियो । तर मैले भेटघाट गर्न अस्वीकार गरेँ र जे बोल्नुपर्ने हो अदालतमै बोल्छु भनेको हुँ । यद्यपि अदालतमा बयान भने दिन नै पाइएन ।’

मुख्य साक्षीको बयान नै नलिई गरिएको थियो फैसला

जावालाखेल बलात्कार प्रकरणमा मुख्य साक्षी अर्थात् घटनाका सम्बन्धमा सबैभन्दा पहिले जानकारी पाउने विद्यालयकी संयोजकको बकपत्र नै नगराई फैसला सुनाएपछि यति बेला न्यायाधीशकै आलोचना भएको छ । न्यायाधीश ऋषिराम आचार्यलाई मुद्दा फैसला गर्न हतार भएको टिप्पणी समेत भइरहेको छ ।

सरकारी वकिल एवम् जाहेरवालातर्फका कानुन व्यवसायीले समेत विद्यालयकी संयोजक अहम् साक्षी भएकाले बुझ्नै पर्ने भन्दै साक्षी बुझ्ने आदेश माग गरेका थिए । तर न्यायाधीशले समय छ, आवश्यक परे गरौँला भनी सुनुवाइ गर्न लगाई पहिलो सुनुवाइमै प्रतिवादीले जबरजस्ती करणीको कसुरबाट सफाइ पाउने फैसला सुनाएका थिए ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले उक्त मुद्दामा साक्षी नै नबुझी अर्थात् मुद्दामा अङ्ग नै नपुगी बलात्कारको मुद्दामा बाल यौन दुरुपयोगमा मात्रै दोषी ठहर गरेका छन् । बाल यौन दुरुपयोगमा आंशिक दाबी पुग्ने फैसला सुनाउँदा न्यायाधीश आचार्यले प्रतिवादी थुनामा रहेको दिनलाई मात्रै गणना गरी ४५ दिन मात्रै कैद सजाय हुने र केही रकम जरिवाना हुने भनी अभियुक्तलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका छन् ।

अनिवार्य अवकाशमा जान न्यायाधीश आचार्यको दुई दिन मात्रै बाँकी थियो

न्यायाधीश ऋषिराम आचार्यलाई यो मुद्दा ढिलोमा माघ १५ गतेभित्रै टुङ्ग्याउनु थियो । किनभने ६३ वर्षको उमेर हदका कारण उनी २०८१ फागुन १६ गतेबाट अनिवार्य अवकाशमा जाँदै थिए भने त्यसको एक महिना अगाडिबाट मुद्दा हेर्न नपाउने व्यवस्था न्याय परिषद्ले गरेको थियो । माघ १६ गते पनि सहिद दिवसको बिदा परेको कारण उनी कुनै पनि हालतमा उक्त मुद्दा ढिलोमा माघ १५ गतेभित्रै टुङ्ग्याउन चाहन्थे ।

यहीबिचमा माघ १० गते न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा जाहेरवाला र पीडितको भिडियो कन्फरेन्समार्फत् बकपत्र गराइएको थियो । त्यसपछि माघ १३ गते पूरक पेसीमार्फत न्यायाधीश आचार्यकै इजलासमा उक्त मुद्दाको पेसी तोकी फैसला भएको थियो ।

यसरी ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले आफू अनिवार्य अवकाशमा जान बिदामा बस्नै पर्ने दुई दिन अगाडि साक्षी नै नबुझी हतार हतारमा प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएका थिए । प्रतिवादीले जबरजस्ती करणीको अभियोग दाबीबाट सफाइ पाइ बाल यौन दुरुपयोग मात्रै ठहर भएकाले प्रतिवादी अभिनव जलान कारागारबाट मुक्त भइसकेका छन् ।

यो पनि …

पक्षले ‘साक्षी बुझ्नै छ श्रीमान्’ भने- न्यायाधीशले झुक्काएर फैसला सुनाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?