चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

लोकपथ
315
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले गत साफको प्रदर्शन र राम्रो तयारी भएकाले घरेलु मैदानमा आगामी हप्तादेखि सुरु हुने च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताए ।

आगामी फागुन ५ गतेदेखि दशरथ रंगशालामा नेपालले लेबनान, म्यानमार र किर्गिस्तान सम्मिलित चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा खेल्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत माघ २० गतेदेखि ३९ जना प्रारम्भिक टोली घोषणा गर्दै प्रशिक्षण सुरु गरेको थियो । 

प्रशिक्षक तामाङले हाल ३० जना टोली छनोट गर्दै प्रशिक्षण  गराइरहेका छन् । प्रशिक्षक तामाङले साँझ फ्लड लाइट र बिहान टर्पmमा प्रशिक्षण गरिरहेको उल्लेख गर्दै सबै खेलाडी फिट रहेको बताए । उनले गत साफको प्रदर्शनले खेलाडी उत्साहित रहेकाले जित्ने लक्ष्यसहित तयारी गरिरहेको विश्वास व्यक्त गरे । 

घरेलु लिग टर्फ खेलिरहेको र यो प्रतियोगिता घाँसे मैदानमा खेल्दा केही फरक पर्नसक्ने भएपनि आफ्ना खेलाडी अभ्यस्त हुने उनको विश्वास छ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहँदा उपाधि घरमा नै राख्ने चाहने हुने भएपनि खेलमा यसै हुन्छ भन्न नसकिने र त्यसमा पनि म्यानमार धेरै राम्रो टोली रहेको उनले उल्लेख गरे । म्यानमारले आफूभन्दा बलिया र फिफा वरीयतामा मथिल्ला टोलीसँग खेलिरहेकाले बलियो रहेको तामाङ बताए । यद्यपि आफ्नो टोलीले पनि त्यहीअनुरूप तयारी गरिरहेको उनको भनाइ छ । 

मिडफिल्डर दीपा शाही र डिफेन्डर हीराकुमारी भुजेल नेपाली महिला टोलीको महत्त्वपूर्ण खेलाडी हुन् । उनीहरू गत महिला साफ च्याम्पियनसिपका दौरान नै चोटका कारण मैदान बाहिर छन् । अहिले दुवै जना रिकभर भैसकेको छैनन् । प्रशिक्षक तामाङले उनीहरू धेरै उत्कृष्ट खेलाडी रहेकाले अभाव खड्किने उल्लेख गर्दै उनीहरूको स्थानमा विकल्प खोजिएको बताउनु भयो । नयाँ खेलाडी अनुभवी नभए पनि क्षमतावान रहेको प्रशिक्षक तामाङको विश्वास छ । समग्रमा आफ्नो टोली राम्रो रहेको र खेलाडी पनि आफैँ उत्साहित रहेको उनको भनाइ छ । टोलीको अग्रपंक्तिमा खेल्ने दुई खेलाडी रेखा पौडेल र सावित्रा भण्डारी खेलको केही दिनअगाडि आउने भएकाले टिम कम्बिनेसनमा केही समस्या हुनसक्ने उनको भनाइ छ । यद्यपि, पछिल्ला खेलका रिभ्यु गरेर सुधार गर्ने प्रशिक्षक तामाङको अपेक्षा छ । 

एएफसी एशियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप एन्फाले यो च्याम्पियनसिप आयोजना गरेको हो । सोहीअनुरूप चार देशीय च्याम्पियनसिप खेल्न लागेको हो । यद्यपि, म्यानमारबाहेक दुई टोली किर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरीयतामा तलका टोली हुन् । म्यानमार हाल फिफाको ५५औँ स्थानमा छ । जुन नेपालभन्दा ४८औँ स्थान माथि हो । किर्गिस्तान १२८औँ र लेबनान १३४औँ स्थानमा छन् । त्यसैले ठूलो महत्वाकांक्षा राखेको एन्फाले तुलनात्मक रूपमा कमजोर टोलीसँग तयारी गर्न लागेको हो ।  

प्रशिक्षक तामाङले फिफा वरीयतामा केही माथि र तल रहेको टोली भए पनि खेल प्रतिष्पर्धात्मक हुने अपेक्षा गर्नुभयो । आफूहरूले फिफा वरीयतामा धेरै माथिका टोलीसँग पनि खेलिसकेकाले म्यानमारसँग कठिन नहुने र हामी सक्छौँ भन्ने सोचेर खेल्दा गाह्रो नहुने आशा  छ । लेबनान र किर्गिस्तानसँग खेलिसकेकाले म्यानमार पनि केही बलियो रहेको उनको भनाइ छ । 

नेपाली टोलीका युवा खेलाडी प्रीति राईले भर्खरै लिग खेलिरहेकाले म्याच एक्सपोजर पनि पाएको र तयारी पनि राम्रो भएकाले प्रतियोगितामा सुखद् हुने आशा गरे । फिफा वरीयताले खासै असर नहुने आफ्नो टोलीमा क्षमतावान् रहेको प्रीतिले बताए । सबै टोली समान बलियो रहे पनि जित निकाल्ने लक्ष्यसहित खेल्ने उनको अपेक्षा छ । चोटले केही खेलाडी घाइते भएपनि नयाँ खेलाडी पनि राम्रो रहेको प्रीतिले बताए । जहिल्यै पनि स्वर्ण जित्ने लक्ष्यसहित खेले पनि यसपल्ट सफलता पाउने आशामा नेपाली रहेको रहेको छ । 

प्रतियोगिताका लागि टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय रूपैयाँ र भिआइपीतर्फ एक हजार रूपैयाँ तोकिएको छ । आगामी फेब्रुअरी १३ मा किर्गिस्तान नेपाल आउने भएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?