नेपाल बैंकका अध्यक्ष अधिकारीद्वारा कर्जा प्रवाहमा कमिसन, अनुसन्धान गर्दै अख्तियार

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपालको बैंकिङ इतिहासको पहिलो बैंक अर्थात् नेपाल बैंकका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीमाथि ठूला कर्जा प्रवाहमा कमिसन लिने गरेको आरोप लागेको छ ।

ठूलो कर्जा प्रवाहमा सेटिङ गरि कमिसन लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान समेत सुरु गरेको छ ।

उनीमाथि मात्रै हैन उनका सवारी चालक उमेश महर्जनको खातामा अस्वभाविक रुपमा ठूलो रकमको कारोबार देखिएको छ । उनलाई पनि अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

महर्जनले बयानका क्रममा सम्पूर्ण कारोबार आफ्नो नभएको र आफ्नो खातामा भएको कारोबार अध्यक्ष अधिकारीको रहेको बयान दिएका छन् ।

अध्यक्ष अधिकारीले भने बमोजिम आफुले काम गरेको महर्जनले बताएका छन् । उनले आफूले अध्यक्ष अधिकारीले भने बमोजिम नै गरेको र सबै पैसा उनकै भएको समेत बताएका छन्  ।

महर्जनको खातामा भएको कारोबारको विश्वसनीय र वैधानिक स्रोत खुल्न सकेको छैन । यस्तोमा, अध्यक्ष अधिकारीमाथि झनै ठूलो शंका पैदा भएको छ ।

अधिकारीले कर्जा प्रवाह गर्दा कमिसन लिने गरेको आरोप छ । यस्तोमा महर्जन मार्फत कमिसन लिई कारोबार गर्ने गरेको आशंका छ ।

महर्जनको खातामा एकैपटक २ देखि ३० लाख रुपैँयासम्मको कारोबार गरेको भेटिएको छ । यति ठूलो रकम सवारी चालकको खातामा कारोबार देखिएपछि अध्यक्ष अधिकारीमाथि झनै ठुलो शंका गर्ने ठाउँ देखिएको हो ।

अख्तियारले चालक महर्जनको बयान लिएको थियो र अध्यक्ष अधिकारीलाई पनि निगरानीमा राखेको छ । अधिकारीको धर्मपथस्थित रहेको केन्द्रीय कार्यकक्षमा समेत अख्तियारले सिल गरेको छ ।

अध्यक्ष अधिकारीले कर्जा प्रवाह गर्दा कमिसनका लागि बार्गेनिङ गर्दै समयमा काम नगर्ने गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उनीमाथि कर्जा प्रवाह गर्दा कमिसन नदिए ढिलासुस्ती गरिदिने, काम नगरिदिने लगायतका आरोप लागेका छन् ।

अधिकारी २०८० असोज १० गते अध्यक्षमा नियुक्त भएका थिए । कांग्रेस निकट मानिएका अधिकारीको नियुक्ती हुँदा अर्थमन्त्री डा= प्रकाशशरण महत थिए ।

अर्कातिर अख्तियारले छानबिन गरिरहेका अध्यक्ष सँग मिलेर बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे बैंकको रणनीतिक योजना र बजेटको धज्जी उडाउँदै नीति नियम विपरित कार्य गर्न लागेको समेत आरोप लागेको छ । अध्यक्ष अख्तियारको निगरानीमा रहँदा पनि कार्यकारी अधिकृतले नियम विपरित काम गर्ने गरेको स्रोतको दाबी छ ।

यस्तो गम्भीर विषयमा सम्बन्धित निकायको तत्काल बयानमा जान जरुरी छ । ५१ सरकारको स्वामित्व भएको र ४९ प्रतिशत सर्वसाधरणको स्वामित्व भएको बैंकले यस्ता मुद्दाहरुमा मुछिँदा सर्वसाधारणको विश्वास गुम्न पुग्ने देखिन्छ ।

त्यसो त नेपालको बैंकिङ इतिहासमा नै पहिलो बैंकका रुपमा रहेको नेपाल बैंक लिमिटेडको नेतृत्वमाथि प्रश्न उठेपछि इतिहास बोकेको बैंकमाथि समेत जनताको विश्वास गुम्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?