छानाबाट पानी चुहिन्छ, कम्प्युटर पालो कुरेर चलाउँछन् रौतहट अदालतका कर्मचारी

मिसिलका फाइलमा भेटिन्छन् गोमन सर्प

रौतहट । अदालतमा पर्ने मुद्दाको प्रमाण अर्थात् सम्पत्ति भनेकै नै मिसिल हुन् । ट्रायल कोर्ट अर्थात् सुरुवाती अदालत समेत भएको कारण जिल्ला अदालतका हरेक मिसिलको महत्त्व उत्तिकै बढी रहन्छ । मिसिलको संरक्षण गरी चुस्त र दुरुस्त राख्नु अदालत वा त्यहाँका कर्मचारीको दायित्व हो ।

तर रौतहट जिल्ला अदालत पुग्ने हो भने ‘ट्रायल कोर्ट’को अवस्था निकै दयनीय देखिन्छ । अदालतमा न पर्याप्त मात्रामा मिसिल राख्ने कोठा उपलब्ध छन्, न त फाँट सञ्चालनका लागि आवश्यक मात्रामा कोठा नै । चाउचाउ वा प्रिन्टिङ पेपरको बक्सामा मिसिल राखिन्छ भने काम गर्नका लागि आवश्यक मात्रामा कोठा समेत नहुँदा एउटै कोठामा पालैपालो काम गर्नुपर्ने अवस्था समेत रहेको छ ।

त्यति मात्रै कहाँ हो र, भवनको छानोबाट पानी चुहिँदा महत्त्वपूर्ण प्रमाण अर्थात् मिसिलमै पटक पटक भिज्ने गरेको छ । मिसिल नै नष्ट हुँदा कतिपय मुद्दामा फैसला गर्न कठिनाइ भएको छ भने कतिपय मिसिलका प्रमाण पुनः ल्याउन आदेश गर्नुपर्ने अवस्था छ ।

हो, रौतहट जिल्ला अदालतको अवस्था यस्तै नै छ । २०५३ सालमा सीमित मुद्दा र सीमित न्यायाधीशका लागि भनेको भवनमा यति बेला ८ जना न्यायाधीश कार्यरत छन् । वार्षिक करिब ९ हजार मुद्दा लगतमा रहने रौतहट जिल्ला अदालतमा ७ जना न्यायाधीश कार्यरत छन् । तर ७ न्यायाधीशको दरबन्दी रहेको अदालतमा मुद्दाको सुनुवाइ गर्ने इजलाससमेत पर्याप्त छैन । सानो कोठामा इजलास राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने अवस्था छ ।

भवनका लागि वर्षौँदेखि माग तर बेवास्ता
रौतहट जिल्ला अदालतको हालको भवन २०५३ सालमा निर्माण सम्पन्न भएको हो । त्यति बेला एक हजारभन्दा कम मुद्दा भएको अवस्थामा निर्माण गरिएको भवनले अहिले न कर्मचारीको भार थेग्न सकेको छ, म सुनुवाइका लागि उचित इजलासको व्यवस्था नै छ । दुई वटा कोठा इजलासका लागि राम्रो रहेको भए पनि अन्य कोठा भने अन्य प्रयोजनकै लागि तयार पारिएको थियो । तर अहिले त्यही कोठाहरूबाट इजलास सञ्चालन गरी सुनुवाइ गर्नुपर्ने अवस्था छ ।

रौतहट जिल्ला अदालतको भवन २८ वर्ष पुरानो भवन भएको र सुनुवाइका लागि कोठा र फाँट समेत सञ्चालन गर्न कठिन भएपछि विगत ७ वर्षदेखि नै अदालतको नयाँ भवनका लागि पटक पटक बजेट माग गर्ने गरिएको छ । तर सर्वोच्च अदालत प्रशासनले रौतहट जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन नगरिदिँदा सुनुवाइका लागि इजलास कक्षदेखि मुद्दाका मिसिल राख्ने फाँट र कर्मचारी राम्रोसँग बस्ने अवस्थासमेत छैन ।

रौतहट जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि जग्गा नै नभएको भने होइन । जिल्ला अदालत प्रशासनले जग्गा रहेको र त्यहाँ बनाउन सकिने भवनको नक्सा समेत डिजाइन गरी सर्वोच्च अदालत प्रशासनमा पठाइसकेको छ । तर सर्वोच्च अदालत प्रशासनले जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि बजेट विनियोजनका लागि आवश्यक पहल नगरिदिँदा रौतहट जिल्ला अदालत साँघुरो मात्रै छैन, कामकाज गर्नसमेत कठिन अवस्थामा पुगिसकेको छ ।

छानोबाट चुहिन्छ पानी, भिज्छन् मिसिलका फाइल

रौतहट जिल्ला अदालतमा अदालतको सुरुवाती समयदेखिकै मिसिल छन् । सुरक्षित राख्नुपर्ने ती मिसिलमा कहिले गोमन सर्प गएर बस्छन् र त कहिले छानोबाट पानी चुहिएर भिज्ने गरेको छ । भवनको माथिल्लो तलामा रहेको कोठामा अदालतको मिसिल राखिएको थियो । तर गत वर्षको पानीले त्यहाँका अधिकांश पुराना मिसिल भिजेर काम नलाग्ने भयो । भवनको छतबाट पानी छिरेर मिसिल भिजेपछि अहिले जस्ताको भवनको छतमा जस्ताको ट्रस्ट त राखिएको छ, तर त्यो ट्रस्टले पनि लामो समय थेग्ने अवस्था छैन ।

मिसिलमा बस्छन् गोमन सर्प

रौतहट जिल्ला अदालतमा मिसिल सुरक्षित राख्न राम्रो ¥याकसमेत छैन । फोटोकपी पेपरको बक्सा ल्याएर त्यही बक्सामा मुद्दाका मिसिल राख्ने गरिएको छ । ती मिसिलहरू खोज्ने समयमा लामो समय लाग्ने मात्रै होइन, कैयन पटक मिसिल राखिएको पेपरको बक्सामा गोमन सर्प भेटिएको छ ।

रौतहट जिल्ला अदालतका कार्यालय सहयोगीका अनुसार पछिल्लो एक वर्षमा ३ पटक मिसिलको बक्साभित्र गोमन सर्प बसेको भेटियो । अति विषालु हुने गोमन सर्प मिसिलमा बसेको पाइएपछि अहिले त्यहाँ मिसिल खोज्न जान नै समस्या हुने गरेको छ ।
अदालतका कार्यालय सहयोगीका अनुसार अहिले मिसिल राखिएको बक्सामा पटक पटक गोमन सर्प बसेको पाइएपछि तीन पटक त सर्पलाई मारिएको छ । ती कर्मचारीले भने, ‘अहिले त मिसिल झिक्न जाँदा पहिले लौरो लिएर जाने गरेको छु । डस्यो भने त समस्या हुन्छ भनेर पहिले लौरोले मिसिल निकालेर बक्सा हेरेर मात्रै मिसिल निकाल्ने गरिएको छ ।

एउटै कोठामा दुई वटा फाँट

रौतहट जिल्ला अदालतमा इजलास मात्रै होइन, फाँटहरूका लागि आवश्यक कोठा समेत उपलब्ध छैन । फरक फरक मुद्दा रहने फाँट वा इजलास अनुसारका फरक फरक फाँट हुनुपर्नेमा एउटै कोठामा दुई वटा फाँट राखेर काम गर्ने गरिएको छ । एउटा फाँटमा कम्तीमा एउटा कम्प्युटर र दुई देखि तीन जना कर्मचारी हुने गर्छन् । तर अदालतमा सानो कोठा रहेको कारण कर्मचारी राम्रोसँग बस्न समेत पाउँदैनन् । अझ एउटै कोठामा दुई वटा फाँटसमेत राख्नुपर्ने अवस्था हुँदा एउटै कोठामा दुई वटा फाँट भएको कोठामा उभिएरै काम गर्नुपर्ने अवस्था छ ।

रौतहट जिल्ला अदालतका सूचना अधिकारी जयनारायण रायका अनुसार फरक फरक फाँटका लागि फरक फरक कोठासमेत नभएको कारण एउटै कोठामा दुई वटा फाँट राखेर चलाउन समेत समस्या भएको छ । कर्मचारीले उभिएरै काम गर्नुपर्ने अवस्था रहेको र दैनिक कामकाजका मिसिल राख्नसमेत समस्या हुने गरेको उनले बताए ।

कम्प्युटर समेत पालो कुरेर चलाउनुपर्ने बाध्यता

रौतहट जिल्ला अदालतको अवस्था यतिसम्म दयनीय छ कि स्थान र उपकरणको अभावमा कतिपय फाँटमा कम्प्युटर समेत पालो कुरेर चलाउनुपर्ने अवस्था छ । पहिलो कुरा कम्प्युटर राख्न पर्याप्त मात्रामा स्थान छैन भने कतिपय फाँटका लागि आवश्यक मात्रामा कम्प्युटर समेत छैन । त्यसै कारण केही फाँटमा कम्प्युटरको समेत अभाव हुँदा एउटा फाँटको काम सकिएपछि पालो गरेर कम्प्युटर चलाउने गरिएको सूचना अधिकारी रायले लोकपथलाई बताए ।

सर्वोच्च अदालतले आवश्यक मात्रामा कम्प्युटर उपलब्ध नगराएको र स्थानीय स्तरबाटै जुटाइएका केही कम्प्युटर, मनिटर तथा प्रिन्टरले समेत काम नगरेका कारण पालो कुरेर चलाउनुपरेको रायले बताए ।

पुराना मुद्दाको लगत बढ्यो, अधिकांश जग्गा खिचलोका मुद्दा

मधेसका अदालतमा समस्याका रूपमा रहेको जग्गा खिचलोको मुद्दाले रौतहट जिल्ला अदालत पनि आक्रान्त छ । रौतहट जिल्ला अदालतमा एक वर्ष कटेका करिब आधा मुद्दा जग्गा खिचलोसँग सम्बन्धित मुद्दा छन् । अभियानमा पुगेका मुद्दाहरू मध्ये करिब ५० प्रतिशत मुद्दा जग्गा खिचलोसँग सम्बन्धित रहेको अदालतका सूचना अधिकारी जय नारायण रायले बताए । यी मुद्दाहरूको छिनोफानो हुन नसक्नुका कारण भनेको मुद्दाको नाप जाँच नहुनु नै हो । जिल्ला अदालतमा अमिनको अभाव हुँदा विवादमा परेका जग्गाहरूको नाप जाँच समयमै हुन सकेको छैन । समयमै जग्गाको नाप जाँच हुन नसक्दा मुद्दाको अंग पुग्न सकेको छैन, जसका कारण जग्गा खिचलोसँग सम्बन्धित मुद्दाको सङ्ख्या जिल्लामा बढी रहेको रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?