प्रकृति लम्साल मृत्यु प्रकरण : नेपालमा आक्रोश, क्याम्पसको दुर्व्यवहारदेखि क्षमायाचनासम्म (भिडियोसहित)

काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमले आम नेपालीको ध्यान खिचेको छ ।

उनको मृत्यु र विश्वविद्यालयका कर्मचारीहरुको नेपाली विद्यार्थीप्रति गरेको दुव्र्यवहारबारे सडकदेखि सदनसम्म प्रश्न उठेको छ ।

भारतका अन्य विश्वविद्यालय भन्दा केही सस्तो भएका कारण वर्षेनी सयौँ नेपाली विद्यार्थीहरुको रोजाई केआईआईटी हुने गरेको छ । हाल त्यहाँ १५ सय बढी नेपाली विद्यार्थीहरु त्यहाँ अध्ययन गरिरहेको बताइन्छ । प्रकृतिको शंकास्पद मृत्यु र अन्य विद्यार्थीहरुलाई समेत विश्वविद्यालयका कर्मचारी र केही भाडाका मान्छेहरु समेत लगाएर बाहिर निकालिएको तस्बिर र भिडियोहरु अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

प्रकृतिको घटनामा के भएको थियो ?

प्रकृतिको जुन दिन मृत्यु भयो, सोही दिन अर्थात् आइतबार कलेजमा कार्यक्रम आयोजना गरिएको थियो । तर अपरान्ह ४ बजेको समयमा होस्टेलमा नेपाली विद्यार्थी मृत भेटिएको खबर आयो । अन्य नेपाली विद्यार्थीहरु त्यहाँ पुग्दा क्याम्पस प्रशासनले त्यहाँ नेपाली विद्यार्थीहरुलाई होस्टेलमा छिर्न समेत दिएन । प्रकृतिले आफैँ आत्महत्या गरेको भन्दै घटनालाई सामान्यीकरण गर्न खाजेपछि नेपाली विद्यार्थीहरुले विरोध जनाए ।

बुटवल घर भएकी प्रकृति बी टेक को तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनलाई सोही क्याम्पसमा पढ्ने अद्धिक श्रीवास्तवले हैरानी दिने गरेको खुल्न आएको छ । उनलाई घटनापछि भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ समेत गरिसकेको छ ।

मृतक प्रकृति लम्साल

श्रीवास्तवले प्रकृतिलाई मानसिक तनाव दिने गरेको समेत उनका साथीहरुले प्रहरी प्रशासनसँग बताएका छन् । यता लामो समयदेखि मानसिक तनाव दिएपछि प्रकृतिले क्याम्पस प्रशासनमा उजुरी समेत दिएकी थिइन् । तर प्रशासनले त्यसबारे कुनै चासो नदेखाएपछि पीडित बनेकी उनले अत्यधिक मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य बनाइएको बताइएको छ । तर क्याम्पस प्रशासनले घटनालाई पूर्ण रुपमा ढाकछोप गरेका कारण आत्महत्या हो या हत्या हो खुल्न सकेको छैन ।

क्याम्पस प्रशासनले घटनालाई ढाकछोप गर्न होस्टेलबाटै प्रकृतिको शव गुपचुप रुपमा विश्वविद्यालयकै अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको थियो ।

शंकास्पद घटनामा क्याम्पस प्रशासन समेत बचाउमा लागेपछि नेपाली विद्यार्थीहरुले राति १ बजेसम्म क्याम्पस प्रशासनको रवैयाविरुद्ध आन्दोलन गरे । यता क्याम्पस प्रशासनले उनीहरुको आवाज दबाउन भाडाका मान्छे समेत प्रयोग गरेर धम्क्याउने तर्साउने, कुट्ने पिट्नेसम्म गरेको भिडियोहरु सामाजिक सञ्जालमा देखिएको छ । विश्वविद्यालयका कर्मचारीहरुले राष्ट्रियतामा समेत आँच आउने विषयहरु उठाउँदै विद्यार्थीहरुलाई धम्की दिएपछि त्यसको चौतर्फी विरोध समेत भइरहेको छ ।

प्रकृतिको रहस्यमयी मृत्यु र घटना लुकाउन क्याम्पस प्रशासनको रवैयापछि थप आक्रोशित विद्यार्थीहरुलाई सोमबार बिहानै एकाएक क्याम्पस प्रशासनको निर्देशनमा जबरजस्ती रुपमा निकाल्दै उडिसास्थित भुवनेश्वर रेलवे स्टेशनमा पुर्याइदिएको थियो । सयौँ विद्यार्थीहरुलाई धम्क्याउँदै निकालिएपछि नेपालमा सडकदेखि सदनसम्म आवाज उठिरहेको छ ।

उडिसा पुगे प्रकृतिका बुबा

छोरीको मृत्यु भएको खबर पाउनसाथ प्रकृतिका बुबा सुनिल लम्साल केही आफन्तसहित उडिसा पुगेका छन् । बुटवल घर भएपनि प्रकृतिको परिवार काठमाडौंमा बस्दै आइरहेको छ । यूनीग्लोब कजेलमा विज्ञान संकायमा कक्षा १२ सम्मको अध्ययन पूरा गरेपछि प्रकृति अध्ययनका लागि भारत गएकी थिइन् । सदाझै आफ्नो काममा व्यस्त रहँदा भारतीय नम्बरबाट सुनिललाई सोमबार बिहान फोन आयो । दशैँमा मात्रै बुटवल घर आएर एक महिना जति बसेर फर्किएकी छोरी संसारमा नरहेको खबरपछि विक्षिप्त बनेका बुबा केही आफन्तको साथमा उडिसा पुगेका छन् ।

मृतक प्रकृतिका बुबा सुनिल लम्साल

उनले आफ्नो छोरीको जस्तो नियती अरुले भोग्न नपरोस् भन्दै न्यायको याचना गरिरहेका छन् । सुनिलले आफ्नो छोरीमाथि ह्यारेस्मेन्ट र इमोस्नल ब्ल्याकमेलिङ गरेर मर्न बाध्य पारेको बताएका छन् ।

‘ह्यारेस्मेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण मेरो छोरीले आत्महत्या गर्न बाध्य भएकी हुन्,’ उनले एसियन न्यूज इन्टरनेशनल (एएनआई)सँग कुरा गर्दै भने ।

कलेज प्रशासनका अधिकारीहरुसँग कुरा भए पनि उनीहरुले आधिकारिक कुनै कुरा नगरेको समेत बताए ।
‘विश्वविद्यायलसँग कुरा भएको छ । त्यहाँका अधिकारीहरुले समन्वय गरिरहेका छन्, तर आधिकारिक रुपमा केही पनि कुरा गरेका छैनन्,’ उनले भने ।

प्रहरी प्रशासनले आफूहरुलाई सहयोग गरे पनि विश्वविद्यालयले कुनै सहयोग नगरेको उनले बताए । साथै उनले आफूहरुको न्याय बाहेक अरु कुनै माग नरहेको समेत बताए ।

तपाईँको माग के हो भन्ने एएनआईका पत्रकारको प्रश्नमा उनले भने, ‘हाम्रो माग न्याय मात्रै हो, केवल न्याय ।’

कुटनीतिक पहलमा सरकार

भारतमा नेपाली छात्राको मृत्युपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले त्यस विषयमा कुटनीतिक तबरबाट कुरा उठाएका बताएका थिए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै आफूले कुटनीतिक तबरबाट कुरा गरेको र मृतकलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका थिए ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दोषीमाथि कारबाही र पीडितमाथि न्यायका लागि निरन्तर कुटनीतिक पहल गरिरहेको बताएकी छन् । उनले नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुइजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुगेको समेत बताएकी छिन् ।

यता भारतस्थित नेपाली दूतावासले आफूहरुले नेपाली विद्यार्थीको सुरक्षाका लागि भारतको केन्द्र सरकार, उडिसा राज्य सरकार र क्याम्पस प्रशासनसँग समेत समन्वय गरेको बताएको छ । साथै घटनाको निष्पक्ष छानबिन नहुँदासम्म निरन्तर समन्वयमा रहेको समेत जनाएको छ ।

भारतीय दूतावासद्वारा दुःख व्यक्त

नेपालस्थित भारतीय दूतावासले सोमबार नै नेपाली विद्यार्थीको मृत्युबारे दुःख व्यक्त गर्दै सत्य तथ्य छानबिनका लागि पहल गरिरहेको बताएको थियो । दुई देशको पारस्परिक सम्बन्धलाई ध्यानमा राख्दै उडिसा सरकार र स्थानीय अधिकारीहरुको समन्वयमा अन्य नेपाली विद्यार्थीहरुको सहयोगका लागि आग्रह गरेको जनाएको थियो ।

प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे भारतीय दूतावासद्वारा दुःख व्यक्त

साथै मंगलबार पुनः विज्ञप्ति निकाल्दै नेपालस्थित भारतीय दूतावासले नेपाली विद्यार्थीहरुमाथि दुव्र्यवहार गर्ने कलेजका गार्डहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ । साथै नेपाली विद्यार्थीहरुलाई हातपात गर्ने चार जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको समेत भारतीय दूतावासले जनाएको छ । जसमा रमाकान्त नायक, रविन्द्र नायक, जोगेन्द्र बेहरा र बागुली बेहरा रहेका छन् ।

केआईआईटी प्रोफेसरले मागिन् माफी, विद्यार्थीलाई फर्किन क्याम्पसको आग्रह

होस्टेलमा रहेका विद्यार्थीहरुलाई धम्क्याउने क्याम्पसको प्रोफेसर बताउने मञ्जुसा पाण्डेले सामाजिक सञ्जालमा एक भिडियो मार्फत् माफी मागेकी छन् । उनले सोमबार साँझ नेपाली विद्यार्थीहरुलाई होस्टेलबाट निस्किएर जान भन्दै धम्की दिएकी थिइन् । साथै नेपालको बजेट भन्दा केआईआईटी कलेजको बजेट ठूलो रहेको भन्दै अपमानजनक शब्द बोलेकी थिइन् ।

नेपाली विद्यार्थीलाई अपमानजनक शब्द बोल्ने मञ्जुसा पाण्डे

‘१६ फेब्रुअरीमा कलेजभित्र नेपाली विद्यार्थीमाथि मैले गरेको दुव्र्यवहारप्रति म माफी माग्न चाहन्छु । नेपाली भावनासँग मैले गरेको दुर्व्यवहारप्रति कलेज प्रशासनको कुनै संलग्ना छैन। त्यसकारण म फेरि नेपालीहरूसँग माफी माग्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै भनेकी छन् ।

यता विश्वविद्यालयका रजिस्टारले निरन्तर विज्ञप्ति जारी गर्दै घटनापछि आफूहरुले लिएको एक्सनबारे जानकारी गराउँदै आइरहेका छन् । आफूहरु प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे दुखी रहेको बताउँदै त्यसमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याएको जनाएका छन् । नेपाली विद्यार्थीमाथि आक्रमण गर्ने दुई सेक्युरिटी गार्ड, २ जना होस्टेलका कर्मचारी र एक प्रशासनका अधिकारीलाई निलम्बन गरेको जनाएका छन् । साथै नेपाली विद्यार्थीहरुलाई स–सम्मान क्याम्पसमा आएर आफ्नो पढाइलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

विश्वविद्यालयका रजिस्टारको विज्ञप्ति

यता विश्वविद्यालयका उपकुलपति (भाइस चान्सलर) प्रो. सरन्जित सिंहले उक्त घटनाप्रति दुःख व्यक्ति गर्दै विकसित घटनाप्रति माफी मागेका छन् । त्यस्तै उनले होस्टेलमा विद्यार्थीहरुलाई धम्की दिने दुई जनाको अभिव्यक्ति आपत्तिजनक रहेको बताउँदै उनीहरुलाई कामबाट निकालिएको समेत बताएका छन् । सिंहले नेपाली विद्यार्थीहरुलाई क्याम्पस फर्किएर आफ्नो पढाइलाई निरन्तरता दिन आग्रह समेत गरेका छन् ।

उपकुलपति सरन्जित सिंहको विज्ञप्ति

नेपाली विद्यार्थीलाई भारतीय विद्यार्थीको साथ

क्याम्पस प्रशासनले गरेको अत्याचारको विरुद्ध नेपाली विद्यार्थीहरुलाई भारतीय विद्यार्थीहरुले समेत साथ दिएका छन् । नेपाली विद्यार्थीहरुलाई क्याम्पसबाट निकालिएपछि भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विद्यार्थी संगठनका नेताहरुले विरोध जनाएका छन् । भाजपा समर्थिन विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा प्रदर्शन गर्दै न्यायका लागि प्रहरी प्रशासनलाई दबाब समेत दिएका छन् ।

भारतीय जनता पार्टी समर्थित विद्यार्थीहरु प्रकृतिको न्यायका लागि आन्दोलन गर्दै

नेपालमा आक्रोश

प्रकृतिको मृत्युले भारतीय पक्षले नेपालीहरुलाई गर्ने व्यवहार समेत उदांगो भएको छ । आफ्नो साथीको रहस्यमयी मृत्युपछि आक्रोशित भएका नेपाली विद्यार्थीहरुले गरेको विरोधकै कारण नेपाली विद्यार्थीहरुमाथि गरेको अमानवीय हर्कत सामाजिक सञ्जालमा पोखियो ।

एकातिर नेपाली चेलीको मृत्यु, विद्यार्थीमाथि अमानवीय हर्कत र नेपालको आत्मसम्मानमा समेत चोट पुग्ने विषय बाहिरिएपछि नेपालमा आक्रोश व्यक्त भइरहेको छ । नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहारपछि सडकदेखि सदनसम्म आवाज उठिरहेको छ । तर नेपाल सरकारले गरेको कुटनीतिक पहल, भारतीय दूतावास लगायत अन्य निकायले देखाएको चासोबारे घटनाको सत्यतथ्य छानबिन हुने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?