काठमाडौं । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण एक सातापछि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘लाज शरणम्’ ले गम्भीर धक्का बेहोर्नु परेको छ ।
उच्च अदालत पाटनको मंगलबारको आदेशसँगै आज बुधबार सार्वजनिक गर्ने भनिएको चलचित्रको ट्रेलर रोकिएको त छ नै, महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शन गर्ने भनिएको प्रदर्शन पनि अन्योलमा परेको छ ।
उच्च अदालत पाटनले हिजो मंगलबार प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएसँगै सो चलचित्रले यो समस्या भोगेको हो ।
कांग्रेस नेता एव पूर्वमन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले सो आदेश दिएको थियो । पूर्वमन्त्री आलमले गत माघ २४ गते सो रिट दायर गरेका थिए ।
रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओएसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालि., जेपीटी क्रियसन प्रालि, जेपीटी क्रियसन प्रालिका सञ्चालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाइएको छ ।
चर्चित टेलिसिरियल सक्किगोनि टिमले बनाएको यस फिल्ममा कुमार कट्टेल (जिग्री ब्रो) को लेखन र निर्देशन रहेको छ भने सीताराम र कुमारसहित अर्जुन घिमिरे, सागर लम्साल, हरिप निरौला, प्रियना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया