काठमाडौं । ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ। टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल फुँयालका अनुसार ‘टिम भरिया’ एप राइड सेयरिङ एपहरू पठाओ र इन्ड्राइभ जस्तै विशेषतासहित ल्याइएको हो । उनले ढुवानी साधनहरूले भोग्दै आएको समस्यालाई समाधान गर्ने उद्देश्यले एप विकसित गरिएको जानकारी दिए ।
फुँयालले भने, ‘हाल ट्रक वा अन्य गाडीहरूले सामान ढुवानीका लागि ट्रान्सपोर्ट कम्पनीहरूमा गएर कुरिरहनुपर्ने अवस्था छ । त्यस्तै, कम्पनी वा सप्लायर्सले ट्रान्सपोर्टरलाई सामान लोडिङ गर्न अनुरोध गर्दा पनि सहज रूपमा उपलब्ध हुन सक्दैनन् । यी समस्याहरू हटाउन एप ल्याइएको हो ।’
अब ‘टिम भरिया’ एपमार्फत कम्पनी वा सप्लायर्सले पठाउनुपर्ने सामानको विवरण प्रविष्ट गर्न सक्नेछन् । राइडरहरूले उक्त विवरण हेरेर भाडा स्वीकार गर्न वा आवश्यक परेमा समायोजन गर्न सक्नेछन् ।
एपमा तीन प्रकारका साइनअप विकल्पहरू छन् – ‘आई एम ड्राइभर’, ‘आई एम कार्गो’, र ‘आई एम ट्रान्सपोटर’ । साथै, एपमा डोमेस्टिक र लङ रुट गरी दुई फरक क्याटेगोरीमा गाडीहरू उपलब्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया