काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बिहीबार अबेर बसेको बैठकले गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिसमा वरिष्ठता मिचिएको भन्दै आलोचना सुरु भएको छ । दुई ब्याच सिनियर र वरीयतामा चार जना अघि भए पनि उनीहरूमध्ये तीन जनालाई छुटाएर जुनियरलाई बढुवा गरिएको भन्दै आलोचना सुरु भएको हो ।
बढुवा सिफारिस समितिले हिजो राति कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये ढकाल सिसम १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी हुन् भने कुँवर भट्ट सिसम २ बेसिकका हुन् ।
ढकालको सिफारिसप्रति असन्तुष्टि नभए पनि कुँवर र भट्टको सिफारिसलाई लिएर सशस्त्र प्रहरीमा असन्तुष्टि चुलिएको हो । कुँवर र भट्टलाई सिफारिस गरिँदा कृष्णराज पाठक, मनिष थापा र प्रवीण कँडेललाई छुटाइएको छ । प्रहरीबाट स्थानान्तरण भई आएका पाठक एसएसपीमा सबैभन्दा सिनियर हुन् । उनी अहिले डीआईजीमा सिफारिस भएकाहरू भन्दा दुई वर्ष पहिले नै एसएसपी भइसकेका थिए । उनी डीआईजी बढुवामा लगातार तेस्रो पटक छुटेका हुन् ।
थापा भने सिसम १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । सिसम १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका कुल ९ जनामध्ये दुई जना विनोदराज श्रेष्ठ र प्रकाश थापा स्टाफ कलेज उत्तीर्ण हुन नसक्दा डीआईजी सिफारिसको रिङबाटै आउट अवस्थामा छन् । यो बेसिकबाट यसअघि दुई चरणमा गरी पाँच जना डीआईजी भइसकेका छन् । बाँकी दुई जनामध्ये कृष्ण ढकाल सिफारिसमा पर्दा मनिष थापा भने छुटेका छन् । अब थापाले एसएसपीमा आफूभन्दा जुनियर र ब्याच नै फरक कुँवर र भट्टलाई देख्नेबितिक्कै सलाम गर्नुपर्ने अवस्था आएको छ ।
यस्तै, प्रहरीबाटै स्थानान्तरण भई आएका कँडेलले पनि वरीयतामा आफूभन्दा जुनियर कुँवर र भट्टको अगाडि जिउ तन्काउनु पर्ने भएको छ । कँडेल एसपी, कामु एसएसपीसम्म कुँवर र भट्टभन्दा अघि बढुवा भएको भए पनि एसएसपीमा भने सँगै ‘कन्फर्म’ भएका हुन् । यद्यपि, उनी पहिलो नम्बरमा ‘कन्फर्म’ भएका थिए ।
सशस्त्र प्रहरी निरीक्षक बेसिकमा ७४ नम्बरमा रहेका कुँवर सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकको रोजाइमा पर्दा उनीभन्दा सिनियर छुटेका हुन् । कुँवर पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन् । भानु देउवा प्रधानमन्त्री देउवाका भतिजा हुन् ।
कुँवर बलम्बु वेयर हाउस आगलागी प्रकरणको दायराबाट जोगाइएका विवादास्पद सशस्त्र प्रहरी अधिकारी हुन् । उनले चोर बाटोबाट नेपाली सेनाको स्टाफ कलेज गरेका थिए ।
संगठनमा राम्रो काम गरेको, लोभलालच नराखेको भनेर चर्चामा आएका आईजीपी राजु अर्यालले डीआईजी बढुवामा आफ्नो अडान राख्न नसकेको भन्दै उनको आलोचना हुन थालेको छ ।
नेपाल प्रहरीको डीआईजी बढुवामा केपी शर्मा ओली नेतृत्वको सरकारले वरिष्ठतालाई ध्यानमा राख्दै बढुवा गरेकाले सशस्त्रमा पनि यो नजिर कायम हुनेमा दाबेदारहरू विश्वस्त थिए । तर सिनियरलाई छाडेर जुनियर बढुवा सिफारिसमा पर्दा उनीहरूको मन कुँडिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया