काठमाडौं । अनलाइन स्क्यामिङ कार्यमा लगाउनका लागि म्यानमार पुराइएका ५ नेपालीको उद्धार गरिएको छ । नेपाली राजदूतावास थाइल्यान्डले म्यानमारको मेवाड्डीबाट ४ जना पुरुष र एक महिला गरी कुल ५ जनाको उद्धार गरेको हो ।
शुक्रवार नेपाली राजदूतावास थाइल्यान्डले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई उद्धार गरिएको जानकारी दिएको हो ।
फूहरूलाई राम्रो रोजगारीका लागि थाइल्यान्ड भन्दै म्यानमारमा लगी बन्धक बनाएर काममा लगाएको भन्दै आफन्तमार्फत उजुरी परेपछि नेपाली राजदूतावास थाइल्यान्डले थाइल्यान्ड सरकारको सहयोगमा उनीहरूलाई म्यानमारको मेवाड्डीबाट उद्धार गरी शुक्रवार नेपाल पठाइएको हो ।
दूतावासका अनुसार उनीहरूलाई थाइल्यान्डको सीमा क्षेत्र नजिकै रहेको म्यानमारको मेवाड्डीबाट उद्धार गरिएको हो ।
पीडितलाई टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्डको बैंकक ल्याई फागुन ९ गतेका दिन नेपाल फर्काइएको हो । नेपाली राजदूतावास थाइल्यान्डले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन भनेको छ । साथै कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया लाओस्, म्यानमार र थाइल्यान्ड लगायतका देशमा वैदेशिक रोजगारीमा नआउन समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया